२ असार २०८३, मंगलबार

चौदण्डीगढीको स्वास्थ्य शिविरमा एक हजार बढीले लिए सेवा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-अन्जनी कुमार अधिकारी

उदयपुर, २० पुस । उदयपुरको चौदण्डीगढी नगरपालिका-९ हडियामा आयोजना गरिएको बृहत स्वास्थ्य शिविरमा एक हजार बढीले सेवा लिएका छन् । चौदण्डीगढी नगरपालिका र गाईघाट सिटी अस्पतालको संयुक्त आयोजनामा सञ्चालित शिविरमा एक हजारभन्दा धेरैले सेवा लिएका हुन् ।

शिविरमा विशेष गरी जेष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरुले सेवा लिएका थिए । चौदण्डीगढी नगरपालिकाले ग्रामीण स्थरमै आफ्ना नागरिकको स्वास्थ्य परिक्षण गराउने योजना अनुसार शिविर सञ्चालन गरिएको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले बताए ।

पछिल्लो समय नगरपालिकाले स्वास्थ्य क्षेत्रमा निकै राम्रो सुधार गर्दै आएको छ । नगरले आफ्नो पाँचवर्षे कार्यकाल भित्र गाउँगाउँमा जनताको पहुँच पुग्नेगरी विशेषज्ञ सेवा पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको नगरपालिकाका नगर प्रवक्ता प्रकाश राउतले बताए ।

शनिबार नगरको वडा नम्बर ९ हडियाको स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा जनरल फिजिसियन सेवा, स्त्री तथा प्रसुति रोग सेवा, नाक कान घाँटी रोग सेवा, आँखा उपचार सेवा, दन्त रोग उपचार सेवा, हाडजोर्नी तथा नसा रोग सेवा, जनरल सर्जनलगायतका सेवा शिविरमा प्रदान गरिएको थियो ।

शिविरमा बिरामीलाई आवश्यक औषधि नगरपालिका र गाईघाट सिटी अस्पतालले निःशुल्क उपलब्ध गराएको थियो । गाउँगाउँमै विशेषज्ञ सेवा नगरले पुर्‍याएको भन्दै स्थानीयले भने खुशी व्यक्त गरेका छन् ।

शिविरमा भेटिएका थप उपचार गर्नुपर्ने बिरामीहरुलाई गाईघाट सिटी अस्पतालले विशेष छुटका साथ अस्पतालमै बोलाएर सेवा दिने बताइएको छ भने चौदण्डीगढी नगरपालिकाले नगर भित्र अतिविपन्न, असहाय र असक्तका लागि भने छुट्टै व्यवस्था गर्ने बताएको छ ।

शिविरमा नगरको वडा नम्बर ५ शिवाई सुन्दरपुर, वडा नम्बर ९, १० को हडिया र छिमेकी पालिका त्रियुगा नगरपालिकाको वडा नम्बर १ को रुपनीलगायतका क्षेत्रबाट बिरामीहरु शिविरमा आएका थिए ।