
काठमाडौं २० पुस । रिटर्नी फेडेरेसनले आफ्नो दोस्रो राष्ट्रिय महाधिवेशन चैत १५ र १६ गतेका लागि तय गरेको छ । शुक्रबार बसेको फेडेरेसनको केन्द्रीय सचिवालयको २९औं बैठकले राष्ट्रिय महाधिवेशन चैत १५ र १६ गते गर्ने निर्णय गरेको हो ।
अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा सातवटै प्रदेश कमिटीका अध्यक्षहरु र सबै आयोग अध्यक्षहरुको समेत सहभागिता रहेको बैठकले चैत १५ र १६ मा दोस्रो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने अध्यक्ष अधिकारीको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । यसअघि २०७९ चैत ११ र १२ मा फेडेरेसनको प्रथम महाधिवेशन काठमाण्डौमा सम्पन्न भएको थियो । फेडेरेसनको विधानले प्रत्येक २ वर्षमा महाधिवेशन आयोजना हुने व्यवस्था गरेको छ ।
बैठकमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा फेडेरेसनका ईन्चार्ज डा. कृष्णबहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले फेडेरेसनका सबै गतिविधि चित्तबुझ्दो हिसाबले अघि बढिरहेकोले सहज ढंगमा महाधिवेशन सम्पन्न हुने र त्यसका लागि संगठनले अघि सारेका सदस्यता विस्तार, कमिटी विस्तार र सबै कमिटीको अधिवेशन समयमै सम्पन्न गर्न जिम्मेवारी भित्र रहेका सबैले संवेदनशिल भएर बाँकी रहेको समयमा भरपुर योगदान गर्नुपर्नेमा जोड दिए ।
बैठकले विधान संसोधन प्रस्ताव उपसमितिको संयोजकमा अनुशासन आयोगका अध्यक्षसमेत रहेका दिलकिरण खजुम र महाधिवेशन निर्देशिका निर्माण उपसमितिको संयोजकमा कार्यवाहक महासचिव भरत शिवाकोटीलाई जिम्मेवारी तोकेको छ ।
बैठकमा अध्यक्ष अधिकारीले संगठनले अघि सारेको उद्यमशीलतासहितको राजनीतिको मूलबाटो कार्यान्वयनको लागि स्थापना दिवसको सन्दर्भ पारेर पुस १५ गते विशेष समारोहका बीच घोषणा गरिएको सहयोगी ईन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष घनस्याम पाण्डेको नेतृत्वमा रहेको ९ सदस्सीय संचालक समितिलाई शुभकामना प्रदान गर्दै रिटर्नीहरुको राजनीतिक, सामाजिक र आर्थिक समायोजनका तीनवटै क्षेत्रका कामलाई गति दिन रिटर्नी फेडेरेसन, रिटर्नी नेटवर्क र सहयोगी ईन्भेष्टमेन्ट कम्पनी लि. समग्र रिटर्नी अभियानको ओदानका तीनवटा खुट्टाको रुपमा लिएर अघि बढ्नु आजको आवश्यकता, जिम्मेवारी र न्यूनतम साँगठनिक दायित्व ठहर्ने हुँदा यसैको आधारमा तीनवटा निकायवीचको अन्तरसम्बन्ध स्थापित गर्दै संगठनमा आवद्ध सबै सदस्यहरु तीनवटै अभियानमा अनिवार्य जोडिएर अघि बढ्न निर्देशन दिए ।
बैठकले केही आयोगमा रिक्त रहेको पदपूर्ति गर्नुका साथै सदस्यता विस्तारसँग जोडिएका संगठनका सबै विषयलाई माघ १५ सम्मको लागि निरन्तरता दिने निर्णयसमेत गरेको छ । यतिबेला फेडेरेसनको स्थानीय तह कमिटी र जिल्ला कमिटीका अधिवेशन धमाधम आयोजना भइरहेका छन् । फेडेरेसनले एक महिना महाधिवेशन तयारीका लागि समय व्यवस्थापन गर्दै त्यसअघि जिल्ला र प्रदेश कमिटीका सबै अधिवेशन सम्पन्न गरिसक्ने योजना अघि सारेको छ ।








प्रतिक्रिया