३१ असार २०८३, बुधबार

मन्त्री दाहालद्वारा मुग्लिन–पोखरा पश्चिम खण्डको अनुगमन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १८ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डको आज निरीक्षण गर्दै प्रगतिबारे जानकारी लिएका छन् ।

मन्त्री दाहालले पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म भइरहेको कामको बुधबार स्थलगत अनुगमन गर्दै प्रगतिबारे जानकारी लिएका हुन् । त्यसक्रममा मन्त्री दाहालले पछिल्लो समय त्यस खण्डमा भएको प्रगति सन्तोषजनक रहेको बताए । पछिल्लो पटक थप भएको म्यादभित्रै काम सम्पन्न गर्न उनले आयोजनाका सम्बन्धित अधिकारीलाई निर्देशन दिए ।

त्यस क्रममा आयोजनाका इन्जिनियर सौजन्य नेपालले मन्त्री दाहाल समक्ष उक्त खण्डको प्रगति विवरण प्रस्तुत गरेका थिए । अठतीस दशमलव पाँच किलोमिटर दूरीको खण्डमा हालसम्म २४।५ किलोमिटर एकतर्फी कालोपत्र सकिएको उनले जानकारी दिए ।

यो खण्डमा म्याद आगामी २०८२ पुस १६ गतेसम्मका लागि थप भएको छ । पश्चिम खण्डमा २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । विसं २०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यस अवधिमा उल्लेख्य प्रगति नभएपछि पहिलो पटक एक सय एक दिनका लागि म्याद थप भएको थियो ।

हालसम्म यो खण्डमा ३४ दशमलव ९४ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ । पश्चिम खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्दछन् । यो खण्डमा ११ पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँचवटा पुल सम्पन्न भएका छन् । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ ।