२७ असार २०८३, शनिबार

मान्छे र बाख्रा खाएको बाघ नियन्त्रणमा

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १७ पुस । मकवानपुरको मनहरी गाउँपालिका-५ बसन्तपुरमा मान्छे र बाख्रा खाएर जंगलतिर भागेको बाघलाई नियन्त्रणमा लिइएको छ । आफैँले मारेको शिकार खान फर्केको बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।

गत पुस १४ गते साँझ घाँस काट्न निस्केकी स्थानीय कान्छीमाया रुम्बालाई घर नजिकै मारेको र सोही रात अन्य ७ वटा बाख्रालाई खोरमै मारेर भागेको बाघ शिकार खोज्दै पुनः गाउँ फर्कने क्रममा डार्ट गरिएको हो । टाढैबाट गोली हाने जसरी बाघ वा अन्य वन्यजन्तुलाई सुईमार्फत बेहोस बनाएर औषधि लगाउने प्रक्रियालाई डार्ट गर्ने भनिन्छ ।

बाघले मारेको बाख्रालाई बाघ जंगलतिर भागेको ठाउँतिर राखेर डार्ट टोली स्ट्यान्डबाइ बसेको थियो ।

चितवन राष्ट्रिय निकुन्ज तथा पर्सा राष्ट्रिय निकुन्जका प्राविधिकहरु, नेपाली सेना, जनप्रतिनिधिसहितको टोलीले मरेको बाख्रा देखाएर बाघलाई आकर्षित गर्ने र डार्ट गरेर नियन्त्रणमा लिने उपाय निकालेका थिए । सोही अनुसार सोमबार साँझ बाघ आउने सम्भावित बाटोमा बाख्रा राखिएकामा मंगलबार साँझ सोही बाटो भएर बाघ आएको र टोलीले राखेको बाख्रा खाने क्रममा डार्ट गरिएको मनहरी-५ का वडाध्यक्ष दीपेन्द्र अधिकारीले बताए ।

बाघले बाख्रालाई घिसार्ने क्रममा डार्ट गरिएको र केही परमात्रै बाघ बेहोस अवस्थामा फेला परेका उनले बताए । डार्ट गरिएपछि शिकार राखिएको वरपर ४ वटा हात्ती प्रयोग गरेर बाघको खोजी गरिएको थियो ।

बेहोस अवस्थाको बाघलाई चितवन राष्ट्रिय निकुन्ज कसरा लगिएको बताइएको छ ।