
काठमाडौं, १५ पुस । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले पार्टीले हटाएका पूर्वउपाध्यक्ष भीम रावल र एमाले छोडेर नेकपा (एकीकृत समाजवादी)को महासचिव बनेका घनश्याम भुसाललाई ह्याउ भए आफ्नै पार्टी निर्माण गरेर देखाउन चुनौती दिएका छन् ।
आइतबार सामाजिक सञ्जालमा कवितात्मक शैलीमा लेख्दै उपमहासचिव रिमालले २०३९ सालदेखि आफूहरू पार्टी निर्माणमा लागिपरेको तर उनीहरु विवादका लागि सधैँ मौकाको खोजीमा रहेको टिप्पणी गरेका हुन् ।
भुसालले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमालेबाट निष्कासित रावललाई आफ्नो पार्टीमा आउन आह्वान गर्दै केपी ओली पार्टी नेतृत्वबाट हटे मात्र एमालेभित्रको उकुसमुकुस शान्त हुने टिप्पणी गरेका थिए ।
भुसालले भनेका थिए, ‘भीम रावल कमरेड त्यहाँबाट निक्लिनुभयो वा निकालियो, त्यो अवस्था छँदै थियो । नेकपा एमालेभित्र प्रश्न उठाएपछि मैले धेरै अघि भनेको थिएँ । त्यतिखेर व्यक्तिगत विरोध, प्रतिशोधका रूपमा लिइयो, कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन् । भीम रावलले चाकरी गरेनन् ।’
एमालेभित्र धेरै नेता उकुसमुकुसमा रहेको टिप्पणी गर्दै भुसालले भनेका थिए, ‘नेपालमा पार्टी नभएर दुःख पाएको हो की पार्टी राम्रो नभएर हो भन्दा राम्रो पार्टी नभएर दुःख पाएको हो । म (भीम रावललाई) हाम्रो पार्टीमा आउन आह्वान गर्दछु ।’
त्यसैको भोलिपल्ट आइतबार एमाले उपमहासचिव रिमालले ‘उनी पो निसासिए रे !’ बाट सुरु गरेर कवितात्मक शैलीमा कटाक्ष गरेका हुन् ।
भुसाल पार्टी (एमाले) भित्र जहिले विवादको निहुँ खोजिरहने गरेको उल्लेख गर्दै रिमालले लेखेका छन्, ‘पार्टीभित्र सधैँ उनी विवादका लागि मौकाको खोजीमा रहे, अनवरत ‘किचकिच’ गरेर बसिरहे ।’
पार्टी विभाजनका बेला भुसाल फेरि ‘लुसुक्क एमालेमा छिरेको’ टिप्पणी गर्दै रिमालले अगाडि लेखेका छन्, ‘अहिले फेरि उनलाई लागेछ क्यारे, कतै ‘टाँड’ पो पर्छ कि ? ! कतै औँला घुसार्न पो मिल्छ कि ? ! अनि भन्न थालेछन् फेरि- ‘ओलीले छोड्नुपर्छ, उकुसमुकस भएको छ ।’
रिमालले लेखेका छन्, ‘अरे यार ! ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर ! आफ्नो घरको मझेरीमा, आँगनमा, गन्द्रयाङ, गुन्द्रुङ गरिरहेका तिम्रा ‘हाँडा–भाँडाहरू, बज्न नदेऊ न ! ढोका खोलुन् कि छेस्किनी लाउन्, अरूले उनीहरूका घरमा, जे गरुन् बाल मतलब !’
यस्तो छ एमाले उपमहासचिव विष्णु रिमालको कविताः
उनी पो निसासिए रे !
उननचालीस सालदेखि यता
हामी निरन्तर पार्टी सङ्गठन निर्माणमा लागि रह्यौँ,
पार्टी भित्र सधैँ उनी—
विवादका लागि मौकाको खोजीमा रहे,
अनवरत ‘किच–किच’ गरेर बसिरहे।
प्रत्येक चुनौती चिर्दै
पार्टीले उचाइ छोएको बेला,
सुरु भएको विवादमा,
हामी एकताको पक्षमा उभियौँ,
उनले विभाजनको बाटो रोजे ।
बाटो मात्र रोजेनन्,
त्यस समूहलाई पनि बिचमै छोडे– अन्तै दौडिए।
’आदर्श’का गफ र ’अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।
एक समय फेरि आयो,
पार्टीमा बहस–विवाद सुरु भयो ।
’जोरीपारी’हरु–
‘एमाले विनाको राजनीति’को खेतीमा लागे,
उनी ’ओली विनाको एमाले’ भन्दै उफ्रिए ।
विभाजनको लागि कसैलाई उचाले–
एकता भन्दै आफू अर्कातिर अल्झिए ।
मौसम छ्याङ्ग भएपछि,
फेरि नयाँ चुनौती सामना गर्ने बेलामा—
छोडे, दौडिए— पार्टीकै विरुद्ध खनिए ।
सानै सही—
असहमत ’अरूहरू’ले दुःखैले बनाएको घरमा
लुसुक्क छिरे–
‘बन साङ्ला’ले ’घर साङ्ला’लाई लखेटे झैँ
उल्टै हाकिम पल्टिए ।
अहिले फेरि उनलाई लागेछ क्यारे–
कतै ‘टाँड’ पो पर्छ कि?!
कतै औँला घुसार्न पो मिल्छ कि?!
अनि भन्न थाले छन् फेरि–
‘ओलीले छोड्नु पर्छ, उकुसमुकुस भएको छ ।’
अरे यार !
ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर !
आफ्नो घरको मझेरीमा, आँगनमा,
गन्द्रयाङ, गुन्द्रुङ गरिरहेका तिम्रा ‘हाँडा–भाँडा’हरू
बज्न नदेऊ न !
ढोका खोलुन् कि– छेस्किनी लाउन्,
अरूले उनीहरूका घरमा,
जे गरुन्–बाल मतलब !








प्रतिक्रिया