
महोत्तरी, १३ पुस । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल राजनीतिक स्थायित्वको यात्रामा अगाडि बढेको बताएका छन् । शनिबार महोत्तरीको रामगोपालपुरमा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेस र एमालेको सहकार्यले देशलाई राजनीतिक स्थायित्वमा लैजाने सङ्कल्पकै आधारमा देश अघि बढिरहेको बताउँदै महासचिव पोखरेलले विकास र समृद्धिको यात्रामा समेत मुलुक अगाडि बढेको बताए । संविधान र कानुनमा हेरफेर गरेर भए पनि विकास र समृद्धिको यात्रालाई अघि बढाउने सङ्कल्पकै कारण देश अघि बढेको र यो एमाले नेतृत्वको सरकारको कारणले सम्भव भएको महासचिव पोखरेलले बताए ।
एमाले नेतृत्वको सरकारको कारणले देशमा धेरै सुधार भएको बताउँदै नेता पोखरेलले लगानीको क्षेत्रमा दक्षिण एसियामा भारतपछि नेपालको अवस्था सुधारोन्मुख रहेको उल्लेख गरे । उनका अनुसार राजस्व, पूँजीगत खर्च र विदेशी मुद्रा सञ्चिति सबैमा वृद्धि भएको छ ।
नेतृत्वको छोटो समयमै एमालेले गरेका कामले नेपाली जनतामा आशा जगाएको बताउँदै पोखरेलले केही तत्वहरूले यस्तो आशालाई निराशामा बदल्ने षड्यन्त्र गरिरहेको बताए । एमालेमा अस्थिरता मच्चाउन र पार्टीलाई घेराबन्दी गर्न केही तत्वहरू लागिपरेको भन्दै उनले यस्तो षड्यन्त्रलाई चिर्न नेपाली जनता अग्रसर हुनुपर्ने बताए ।
मधेशमा हुलाकी सडक आयोजना र सुनकोशी मरिन डाइभर्सन जस्ता आयोजनाको काममा आएको तीव्रता एमाले सरकारकै श्रेय रहेको बताउँदै महासचिव पोखरेलले विकास र राष्ट्रियताको पक्षमा एमाले मात्र रहेको बताए ।
छिमेकीसँग आँखामा आँखा जुधाएर नेपाली जनताको हितमा काम गर्ने एमाले नेतृत्वको सरकार मात्र भएको भन्दै उनले आगामी निर्वाचनमा एमालेलाई सहयोग गर्न आग्रह गरे ।
एमाले महोत्तरीका जिल्ला अध्यक्ष बलराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो, मधेश प्रदेशका भौतिक विकास मन्त्री सरोजकुमार यादव, एमाले नेता रामदयाल मण्डललगायतले मन्तव्य राखेका थिए ।








प्रतिक्रिया