२२ असार २०८३, सोमबार

यी हुन् भीम रावलले एमाले र केपी ओलीलाई दिएका धोका, बाँकी छ अझै अन्तिम मौका

21.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– टेकराज पौडेल

नेकपा (एमाले)को सचिवालय बैठकले भीम रावललाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने गरी गरेको निर्णय अहिले सर्वत्र बहसको विषय बनेको छ ।

एमालेले रावललाई कारबाही गर्नु ठीक थियो वा गलत भन्ने चर्चा निकै भएको छ । सामाजिक सञ्जालमा भीम रावललाई कारबाही गर्नु गलत थियो भन्नेहरूको मत पनि ठूलै छ । एमालेले रावललाई कारबाही गर्नु ठीक थियो वा गलत भन्नु अघि पहिला तलका यी तथ्य हेर्नुपर्छ ।

एमालेको दशौं महाधिवेशनमा बन्द सत्रको हलले रावललाई पार्टीको उपाध्यक्ष बन्नुस भन्यो। पार्टी अध्यक्ष ओलीले नै रावललाई उपाध्यक्ष प्रस्ताव गर्नुभयो । तर, मान्नु भएन । म चुनाव जित्छु भन्नुभयो, ल ठीक छ भनियो । अध्यक्ष पदमै चुनाव लड्नुभयो । करिब २३०० जना प्रतिनिधिहरुको मतमा जम्माजम्मी २४० मत अर्थात ८ प्रतिशत मत प्राप्त गर्नुभयो । अध्यक्षमा लडेर जित्न सम्भव छैन भन्ने सायद उहाँलाई मात्र होइन, दुनियाँलाई थाहा थियो । तर, उहाँले जिद्दी गर्नुभयो । एमालेको दशौं महाधिवेशन विशेष महत्वको छँदै थियो । सर्वसम्मत नेतृत्व चयन गरी विरोधीलाई गतिलो जवाफ दिनसकिन्थ्यो । तर, उहाँ बाधक बन्नुभयो ।

एमाले र माओवादी एकता र उक्त एकताको बलमा एमालेलाई र यसको बनिबनाउ विचार संगठनलाई कब्जा गर्न प्रचण्ड त घुँडा धसेरै लागेका थिए । माधव नेपाल, झलनाथ र वामदेव गौतमसमेत केपी ओलीबाट नेतृत्व जसरी पनि खोस्ने र नेतृत्वमा पुर्‍याउने र कम्युनिस्ट पार्टीलाई विसर्जन गराउन र खासगरी दक्षिणपन्थी अवसरवादको चरम दलदलमा फसिसकेका थिए ।

सर्वोच्च अदालतको एक फैसलाले नेपालको कम्युनिस्ट आन्दोलनलाई बचाउने काम गरेको थियो । तर, पूर्ववत एमाले नेतृत्वमा रहेका माधव नेपालको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय सदस्य र सांसदहरुको बलमा एमाले पार्टी फुटाउने कामको प्रत्यक्ष अप्रत्यक्ष भूमिकामा भीम रावल हुनुभयो । एक त आफ्नै नेतृत्वमा बनेको कम्युनिस्ट पार्टी विभाजन हुनु अर्को आफ्नै पार्टीका दुई पूर्वअध्यक्ष तथा वरिष्ठतम् नेताहरु एमाले विभाजन गर्न भलिभित्तो गरेको अवस्थामा निकै लचिलो भएर केपी ओलीले १० भाइ विद्रोहीहरुलाई एमालेमै राख्न सफल हुनुभयो । माधव नेपालको विधान कार्यक्रम योजना बनाइदिइसकेका नेतागणहरुलाई जुनसुकै मूल्यमा एमालेमा राखिरहन निकै लचिलो भएका अध्यक्ष ओलीको निकै ठूलो प्रयासपछि पनि एमाले विभाजित गराएरै छोडे ।

एमाले विभाजित भएको र प्रतिपक्षी पार्टी एमालेविरुद्ध देशभरका बाँकी सत्तापक्षीय पार्टीहरुको गठबन्धन बनेको थियो । यस्तो बेला एमाले पार्टी सबल र बलियो बनाउन पार्टी अनुसाशित तथा विगतका अभ्यासहरुलाई थाँती राखेर धुलो टक्टकाउँदै उठ्न जुट्नुपर्ने थियो । सत्ता गठबन्धनसित पाखुरा सुर्काउन पार्टीका यावत प्रावधान र अधिकार केन्द्रिकृत गरेर दुनियाँलाई देखाउनकै लागि एमाले विभाजन भएको छैन, अझ बलियो भएको छ भन्ने आभास नदिइकन जनता र कार्यकर्ता निरास बन्ने थिए । तर, रावलले दुनियाँलाई हसाउन सहयोग पुग्नेगरी लोकतान्त्रिक अधिकारको नाममा ओलीसँग चुनाव लडेको हो भन्ने मानक बनाउने उद्देश्यले मात्र चुनाव लड्न चाहनुभयो। एमाले एक ढिक्का छैन, अझै एमालेभित्र विभाजनको बीउ मरिसकेको छैन भन्ने आभास दिन चाहनुभयो । चुनावको नाममा दुई दिन महाधिवेशनको समय र खर्च बढाइदिएर प्रतिक्रियावादीहरुबाट वाहीवाही पाएका रावल चुनावमा विधान अनुसार पदाधिकारीमा लड्नेले केन्द्रीय सदस्यमा पनि मतपत्रको लिस्टमा नाम हुने प्रावधानका कारण अध्यक्षमा हारे पनि केन्द्रीय सदस्यमा भने निर्वाचित हुनुभयो।

महाधिवेशनको निष्कर्ष र व्यक्त भावना अनि प्रतिनिधिहरुको छनौटलाई चुनौती दिँदै केन्द्रीय सदस्यमा सपथ खान मन्जुर नगरेपछि उहाँ (रावल)लाई स्वतः केन्द्रीय सल्लाहकारको जिम्मेवारी दिइयो । त्यो पनि स्वीकार गर्नु भएन ।

सभामुख अग्नि सापकोटाको अनियमितताका विरुद्ध संसदमा एमालेले विरोध जनाइरहेको अवस्थामा रावलले केपी ओली प्रधानमन्त्री, अध्यक्ष वा संसदीय दलको नेता को हो ? आफूले नचिन्ने र आफूलाई कुनै दलको ह्वीप नलाग्ने घोषणा खुला गर्नुभयो । एमालेले कार्बाही गरेका २३ भाइ सांसदका विरुद्धमा तत्कालीन रुपमा सभामुख अग्नि सापकोटाले गरेको हर्कत विर्सने खालको थिएन । सभामुखले गरेको अन्यायविरुद्धमा दवाबमुलक कार्यमा पार्टीको नीतिविरुद्ध बोल्ने र ह्वीप नमान्ने कार्य बारम्बार गरेपछि रावलप्रति पार्टी नेता र देख्ने जान्नेहरु आजित भैसकेका थिए । तथापि एमालेले अन्देखा गरिरहेकै थियो ।

२०७९ मंसिरमा रावलका लागि अछाम निर्वाचन क्षेत्रको लागि संसद्मा सम्बन्धित क्षेत्रको उम्मेदवार बनाउने निर्णय प्राप्त भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई आगामी दिनमा पनि अघिल्लो कार्यकालको गतिविधि नदोहोर्‍याउन र नेतृत्वसँग मिलेर जान फोनमार्फत अनुरोध गर्नुभयो । साथै, काठमाडौ फर्केर भेटघाट गरेर अघि बढ्न समेत सुझाव दिनुभयो । पार्टी अध्यक्षले बोलाउँदा नजाने मात्र होइन ‘आफूलाई सम्बन्धित निर्वाचन क्षेत्र र जिल्लाले एक मात्र उम्मेदवार बनाएर पठाएकोले आफ्नो टिकट इन्द्रेको बाउ चन्द्रे आए पनि खोस्न नसक्ने तर ओलीसँग आज झुकियो भने बाँकी दिनमा पनि झुक्न पर्ने’ भन्ने जवाफ पठाइयो र पार्टी अध्यक्षसँग भेट गर्न नचाहेको सन्देश पठाउनुभयो ।

यता अध्यक्ष ओलीलाई चुनाव नलड्दै त रावलमा यत्तिको घमण्ड छ भने भोली चुनाव जितेर आएको अवस्थामा एमाले पुनः विभाजन गर्ने आधार भत्काउन जरुरी थियो । संसद्मा चुनाव जित्नैका लागि कमजोर खाले उम्मेदवारले जितेर आउने भएको हुँदा नयाँ अनुमोदन भएर रावल मात्र होइन, लोभीपापी अवसरवादीहरुको उपस्थितिले रावललाई बल पुर्‍याउने गरी त्यस्ताहरुको नेतृत्व गर्ने र एमालेको विरुद्धमा बनेको गठबन्धन सरकारले कथमकदाचित बहुमत ल्याएको खण्डमा एमालेलाई १० प्रतिशत सांसदको बलमै अध्यादेशमार्फत एमाले सिध्याउन अर्को प्रपन्चको खेल खेल्न नपरोस् भनेर पार्टी बचाउनको लागि भीम रावललाई टिकट दिइएको थिएन ।

हुन त यो पार्टी भीम रावल जस्तै लाखौंलाख कार्यकर्ताबाट निर्माण भएको हो तथापी पछिल्लो समय रावलले एमाले नेतृत्वलाई स्थापित गर्ने आफू पनि सँगसँगै हिड्ने कुराभन्दा पनि आफू एमालेका अन्य कार्यकर्ता र नेता भन्दा फरक धातुबाट बनेको हुँ भन्ने भ्रम पालेर गतिविधि गरेको धेरैले बुझ्न थालेका थिए ।

२०६५ को बुटवल महाधिवेशनको बेलासम्म झलनाथ खनालको टिममा रहेको बेला रावललाई जुनियर भएकोले अहिले सचिव लड्नुभन्दा नमानेर ओलीको टिमबाट उपाध्यक्ष लडेपछि उहाँले त्यो पदमा हार्नुभयो। तर, केन्द्रीय सदस्य जितेका रावल सपथ नखाई निहुँ खोजेर बस्नुभयो । जब २०६६ जेठमा प्रचण्डको सरकार ढलेर माधव नेपालको सरकार बन्ने स्थिति आयो र भीम रावललाई तत्कालीन शक्तिशाली नेता केपी ओलीको तर्फबाट एमाले-कांग्रेसको संयुक्त सरकारमा गृहमन्त्री बनाउने वातावरण बन्यो तब मात्र उहाँले केन्द्रीय सदस्यको शपथ लिनुभयो।

त्यति मात्र होइन, २०६३ वैशाखमा माओवादीसहित ७ आन्दोलनरत पार्टीको सरकार बन्ने स्थिति आयो । सुदूरपश्चिमलाई मन्त्री चाहिने भन्दै रावलले निकै बबण्डर गर्नुभयो । एमालेको भागमा परेको शिक्षा लिएर मन्त्री बन्नुस भनेर पार्टीले अनुरोध गरेको थियो । आफूलाई गृह वा परराष्ट्र नभै सरकारमै नजाने अड्डी कस्नुभयो। परराष्ट्र मन्त्री सहाना प्रधानको नेतृत्वमा सरकारमा जाने एमाले स्थायी समितिको निर्णय उपर रावलले धावा बोलिरहनुभयो ।

संविधान जारी भैसकेपछि बनेको केपी ओली (एमाले-माओवादी)को सरकारमा रक्षामन्त्रीको जिम्मा पाएका रावल २०७४ को निर्वाचनपछि पनि गृहमन्त्रीको आकांक्षी हुनुहुन्थ्यो। नेकपा माओवादी र एमाले बीचको गठन्बन्धन र एकीकरण पछि शक्तिशाली मन्त्री बन्न नपाएको झोंक पार्टी अध्यक्ष केपी ओलिमाथि बारबार पोखी रहनुभयो। तराईमा पृथकतावादी गतिविधि गरिरहेको सीके राउतलाई शान्ति प्रक्रियामा ल्याउँदा रावलले धुँवाधार ओलीको विरोध गर्नुभयो । सम्झौताका बुँदाहरुलाई आफू अनुकुल अर्थ लगाउँदै सरकार र केपी ओलीलाई निच देखाउन कुनै कसर बाँकी राख्नुभएन ।

पछिल्लो समय पार्टीभित्रको कित्ता फेरेर माधवकुमार नेपालको नजिक पुगेका रावलले माधव नेपालले क्रिश्चिनिटीमा धेरै गतिविधि गरेको देख्दादेख्दै केपी ओली प्रधानमन्त्री हुँदाको बखत भएको एक अन्तर्राष्ट्रिय शान्ति सम्म्मेलनमा त्यहाँ होली वाइन खुवाइएको भन्दै आलोचना गर्नुभयो। एमाले हिन्दु धर्म विरोधी हो भन्ने पार्न कुनै कसर बाँकी राख्नुभएन । यसअघि पनि नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन दर्जनौं भएका र ५ वटा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा धार्मिक संस्थाले गरेका कार्यक्रमलाई छायाँमा पार्दै ओलीले मात्र उक्त कार्यक्रम नेपालमा गरेका र मुनको वीर्यसमेत खाएको भन्दै एमालेविरुद्ध र ओलीविरुद्ध अफवाह फैलाउनुभयो ।

अझ पछिल्लो समय त प्रचण्ड, माधव नेपाल, झलनाथ र वामदेवसँग मिलेर एमाले सिध्याउने रावलजीले गरेका सयौ गतिविधि यो छोटो लेखमा समेटन गाह्रो छ । माधव नेपालहरुको उत्साहटमा २०७८ मंसिर २९ गते प्रचण्डद्वारा नेकपा बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीमाथि लगाइएका १९ बुँदे आरोपका खेस्रा तयार गर्नेका संयोजक भीम रावल भएको वामदेव गौतमले यो पङ्ग्तिकारलाई भनेको कुरा २०७८ मंसिर ४ गते नै मैले लेखिसकेको थिएँ । वामदेवका अनुसार रावलको नेतृत्वमा पम्फा भुसाल, जनार्दन शर्मा र घनश्याम भुसाल हुनुहुन्थ्यो । नभन्दै २०७८ पुस ५ गते प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको माध्यमबाट नेता परिवर्तन होइन कि संसदबाट नेता फेर्न अविश्वासको प्रस्ताव लिएर राष्ट्रपति निवास पुग्नेको नेतृत्व गर्ने नै भीम रावल हुनुहुन्थ्यो ।

ओलीलाई सिध्याउन दूधबाट झिङ्गा फालेझैं फाल्ने योजनाका प्रमुख रफुकार रावलजी यतिबेला एमाले सचिवालयको बैठकबाट पार्टी सदस्यको बर्खास्तीपछि जुन प्रतिक्रिया दिँदै हुनुहुन्छ त्यो एउटा कम्युनिस्ट पार्टीको नेता वा कार्यकर्ताले गर्ने कुरा हो ? तेल दिँदा नखाने, तर कोल भने चाटिरहने रावल प्रवृत्तिको कुनै अर्थ हुन्न ।

तपाईंलाई ठीकसँग नेतृत्वसँगको विश्वास, नीतिप्रतिको विश्वास, आदर्शप्रतिको विश्वास र अन्तिममा आफैप्रतिको विश्वास छ भने एमालेमै सँगै बस्ने आधार सकिएका छैनन् । म पार्टीको नेता बन्न चाहन्छु भनेर सुध्रिएर आउने हो भने केही बिग्रेको छैन् । आफूले म त्यही पार्टीको सदस्य हुन पनि पर्दछ पनि भन्ने तथानाम गाली गरिरहन पनि पाइरहनु पर्दछ भन्ने कुरा जायज होला ? यति कुरा त रावलजीले दुर्गा प्रसाईंबाट पनि बुझ्न पर्ने हो । प्रसाईं एमाले छोडेर गए । एमाले र ओलीलाई मज्जाले गाली पनि गरिरहेका छन् । मान्छे स्वतन्त्र हुन अधिकार छ । प्रसाईंले फोहोरी गाली गर्छन्, तपाईं सैद्धान्तिक जामा लगाएका गाली गर्नुहुन्छ । एमालेमै बस्ने रहर छ भने समय केही घर्केको छैन । आफूले गरेको कामको आत्मालोचना गर्नुस । म सुध्रन्छु भन्नुस, कुरा सकिन्छ ।

३५ वर्षदेखि तपाईंलाई एमालेको अब्बल नेता आफू बाहेक अरु कोही छैन भन्ने लागिरहेको छ । पार्टीको नेतृत्व, नीति, विचारलाई पनि तपाईं आक्रमण गरिरहनु कसरी जायज भन्न सकिन्छ !

बारम्बार अवसर प्राप्त नेताहरुले नै पार्टीलाई सिध्याउन जे पनि गर्ने तपाईंको रोदन सुनिरहन आवश्यक छैन् । ‘तेल दिँदा नखानेले कोल चाट्ने’ तरिका भीम रावल प्रवृत्ति हो’ अहिलेलाई भन्नू यत्तिमात्र हो ।