११ श्रावण २०८३, सोमबार

टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतलाई सफाइ

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रकरणमा काँग्रेस नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सफाइ पाएका छन् ।

सोमबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिएको हो ।

अदालतले नीतिगत निर्देशन दिएपछि त्यसको कार्यान्वयन, प्राविधिक तयारी, पूर्वाधार निर्माण र खरिद प्रक्रिया सम्बन्धित निकायको जिम्मेवारी भएको तथा मन्त्री वा मन्त्रालयले त्यसमा हस्तक्षेप गरेको प्रमाण नभेटिएको उल्लेख गरेको छ ।

अन्य प्रतिवादीहरू दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती भने दोषी ठहर भएका छन्। पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्रलगायत भेनराइज सोलुसन्सका एजेन्टहरूले भने बस्नेतसँगै सफाइ पाएका छन् ।

तत्कालीन अध्यक्ष झाले खरिद प्रक्रियामा बदनियत राखेको र अनिवार्य रूपमा गर्नुपर्ने पूर्वतयारी नगरी प्रक्रिया अगाडि बढाएको भन्दै उनलाई दोषी ठहर गरिएको हो । उनलाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ । साथै, उच्च पदस्थ अधिकारी भएकाले भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप ६ महिना गरी कुल १ वर्ष कैद सजाय सुनाइएको छ ।

प्राधिकरणका तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती लाई पनि दोषी ठहर गर्दै जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ ।