
उदयपुर, १ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले उदयपुर जिल्लाको प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणका लागि आवस्यक बजेट सुनिश्चित नहुँदा निर्माण कार्य रोकिएको बताएका छन् ।
सोमबार प्रस्तावित विमानस्थलको जग्गाको स्थलगत अवलोकन गर्न उदयपुर पुग्नु भएका मन्त्री पाण्डेले सरकार संग विमानस्थल निर्माणका लागि आवस्यक बजेट नहुँदा विगत लामो समय देखी विमानस्थल निर्माणको काम रोकिएको समेत बताएका हुन् । मन्त्री पाण्डेले उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल निर्माणका लागि जग्गाको मुआव्जा समेत तिर्नु नपर्ने अवस्था रहेको, जग्गा प्राधिकरणका नाममा आइसकेको अवस्थामा समेत सरकारले बजेट सुनिश्चित गर्न नसक्दा निर्माणको कार्य सुचारु गर्न नसकिएको बताउदै अब उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल निर्माणका लागी जनस्तरको सहभागीता संगै स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले लागत स्टमेट तयार गरेर बजेट विनियोजन गर्नु पर्ने जानकारी दिए ।
मन्त्री पाण्डेले राज्यसंग अहिले बजेट अभाव भएका कारण पनि सगरमाथा विमानस्थल निर्माणका लागि आवस्यक बजेट विनियोजन गर्न नसकेको बताउदै सबै पक्ष मिलेर, सबै पक्षको लागत सहभागितामा मात्र विमानस्थल निर्माण गर्न सकिने दावी गरे ।
नागरिक उड्यान प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारी, मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेय, उदयपुर निर्वाचन क्षेत्र नं. १ का संघिय सांसद डाक्टर नारायण खडका सहित प्रस्तावित सगरमाथा विमानस्थलको अवलोकन गर्न पुगेका मन्त्रीले बजेट अभावको कुरा देखाउँदै जनस्तरको सहभागीतासंगै स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले लागत स्टमेट तयार गरेर बजेट विनियोजन गरि विमानस्थल निर्माणको कार्य सुरु गर्नुपर्ने बताएपछि स्थानीय भने विमानस्थल नबन्ने भन्दै निराश भएका थिए ।
संघीय सांसद डा. नारायण खड्काले भने हजारौं रुख काट्न लगाएर, यहाँको बातावरण बिगारेर अहिले विमानस्थल निर्माणको कार्य कुनैपनि बहानामा रोकिएमा जनता चुप लागेर नबस्ने बताए । सांसद खड्काले राज्यले एउटा महत्वपूर्ण काम जग्गा प्रति र प्रस्तावित विमानस्थल भित्रका रुख कट्ने काम सकिसकेको भन्दै अब यो वा त्यो बहानामा विमानस्थल निर्माणको कार्य रोकिए सयौं जनता लिएर आफु मन्त्रालय र नागरिक उड्यान प्राधिकरण घेराउ गर्न काठमाडौँ पुग्ने बताए ।
नागरिक उड्यान प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले भने उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल बातावरण लगायतका सबै खाले बिषयले उपयुक्त रहेको भन्दै आफुहरुले बजेट पाए तत्काल काम सुरु गर्ने स्पष्ट पारे । यसअघि पनि सरकारले बजेट विनियोजन नगरेको अवस्थामा आफुहरुले प्राधिकरणको तर्फबाट ५ करोड रकम विनियोजन गरेर काम गरेको बताउदै सरकारले बजेट सुनिश्चित नगरी प्राधिकरणले मात्र काम अघि बढाउन नसक्ने जिकिर गरे ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १ र २ को सामुदायिक वन क्षेत्रको १५७ हेक्टर वन अधिग्रहण गरि करिव २६ प्रजातिका ३ हजार रुख कटान गरि प्रस्तावित सगरमाथा विमानस्थल निर्माणको कार्य सुरु गरिएको भएपनि पछिल्लो समय करिव १५ हजार रुख कटान पश्चात विमान स्थल निर्माणको काम पूर्ण रुपले रोकिएको छ ।








प्रतिक्रिया