३ श्रावण २०८३, आइतबार

एमालेले कार्यान्वयनमा ल्यायो एकीकृत लेखा तथा जिन्सी प्रणाली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) ले पार्टीको आर्थिक क्रियाकलापलाई पारदर्शी र सहज बनाउन एकीकृत लेखा तथा जिन्सी प्रणाली कार्यान्वयनमा ल्याएको छ ।

पार्टीले त्यसका लागि आवश्यक सफ्टवेयर तयार गरी केन्द्रीय कार्यालयमा प्रयोगमा ल्याइसकेको छ भने पहिलो चरणमा चालू आर्थिक बर्ष सबै (नौवटै) प्रदेशमा लागू गर्ने (केन्द्रीय प्रणालीमा जोड्ने) भएको छ । यो प्रणाली क्रमशः जिल्ला कमिटी र महानगर स्तरका स्थानीय तहसम्म पुर्याई पार्टीको लेखा प्रणालीलाई एउटै सञ्जालका रूपमा विकास गर्ने योजना रहेको छ ।

केन्द्रीय कार्यालयमा कार्यान्वयनमा ल्याइएको नयाँ सफ्टवेयर ‘लेखा तथा जिन्सी प्रणाली’को आज शुभारम्भ गरिएको छ । पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले उक्त सफ्टवेयरको शुभारम्भ गरे ।

यो सफ्टवेयर पहिलो चरणमा पार्टीका नौवटै प्रदेश कमिटीमा कार्यान्वयनमा ल्याइने भएकाले त्यस विषयमा दुईदिने प्रशिक्षण आयोजना गरिएको छ । पार्टीको केन्द्रीय लेखा आयोग र केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभागद्वारा पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिएको प्रशिक्षणमा प्रदेश कमिटीका अध्यक्षहरू, प्रदेश लेखा कमिटी र प्रदेशमा वित्त विभागको जिम्मेवारीमा रहेकाहरू तथा लेखा राख्ने कर्मचारीहरूको सहभागिता रहेको थियो ।

एकीकृत लेखा तथा जिन्सी प्रणाली कार्यान्वयनको औपचारिक शुभारम्भ गर्दै उपमहासचिव ज्ञवालीले पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउने सन्दर्भमा गर्नुपर्ने सात काममध्ये आर्थिक अनुशासन, आचरणगत शुद्धता पनि एक भएको बताए । पार्टीले कार्यान्वयनमा ल्याउने यो पारदर्शी लेखा प्रणाली त्यसका लागि ज्यादै महत्वपूर्ण भएको उनले बताए । उपमहासचिव ज्ञवालीले पार्टीपङ्तीमा देखिने सानातिना आर्थिक विचलनलाई समेत यसले सच्याउने विश्वास व्यक्त गरे ।

उपमहासचिव ज्ञवालीले मुलुकको वर्तमान राजनीतिक कोर्शका बारेमा चर्चा गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएयता अर्थतन्त्रमा गतिशिलता शुरु भएको, सङ्क्रमणकालीन न्यायको विषय टुङ्गो लगाउने सन्दर्भमा ब्रेक थ्रू भएको र बाह्य सम्बन्ध सन्तुलनमा ल्याउन महत्वपूर्ण काम भएको उनले भनाइ छ ।

कार्यक्रममा उपमहासचिव तथा केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभागका प्रमुख विष्णु रिमालले पार्टीको आर्थिक क्रियाकलाप पारदर्शी बनाउन र सबै पार्टी सदस्यले पार्टीको सम्पत्ति नगद तथा जिन्सी एकै क्लिकमा देख्नसक्ने लेखा प्रणाली विकास गर्ने सन्दर्भमा यो ‘लेखा तथा जिन्सी प्रणाली’ सफ्टवेयर कार्यान्वयनमा ल्याइएको बताए । पार्टी कमिटीमा एउटै लेखा प्रणाली सञ्चालनमा ल्याउने सन्दर्भमा यो सफ्टवेयर यस आर्थिक बर्ष प्रदेश तहसम्म कार्यान्वयनमा लैजाने योजना रहेको उहाँको भनाइ छ ।

पार्टीको स्थायी कमिटीका सदस्य तथा केन्द्रीय सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारीले पार्टीका सबै सदस्यहरूलाई अनलाइनमा ल्याउन सकियो र जिल्ला कमिटीका माघमहिनामा हुने बैठकले सदस्यता नवीकरणको टुङ्गो लगाउनसक्दा यो सफ्टवेयर कार्यान्वयनमा ठूलो उपलब्धि हुने बताए । कार्यक्रमको अध्यक्षता गरेका केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले पार्टीको हिसावकितावलाई पारदर्शी र सहज बनाउन अटोमेशनमा जाने प्रयास गरिएको बताए ।

उनले नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउँदा आधिकारिक व्यक्तिले दैनिक हिसाव किताव हेर्नसकिने जानकारी गराए । ‘लेखा तथा जिन्सी प्रणाली’ नयाँ सफ्टवेयर पार्टीका विभिन्न तहको लेखाङ्कन एउटै सफ्टवेयरमा गर्न सकिने गरी विकास गरिएको छ । यो सफ्टवेयर लेखाको सर्वमान्य सिद्धान्तका साथै निर्वाचन आयोगको निर्देशिका र महालेखाको निर्देशिकालाई समेत आधार मानेर निर्माण गरिएको छ ।

यो सफ्टवेयर सञ्चालनका साथै लेखा राख्ने सम्बन्धमा भोलिसम्म हुने प्रशिक्षणमा लेखा एवं जिन्सी प्रणालीको सङ्क्षिप्त प्रस्तुति, लेखा आयोगका तर्फबाट मार्गदर्शन, लेखा एवं जिन्सी प्रणालीको प्रयोगात्मक अभ्यास लगायत विषयमा विज्ञहरूबाट जानकारी गराइने छ ।