
काठमाडौं, २६ मंसिर । सगरमाथा राष्ट्रिय निकुञ्जमा व्यावसायिक हेलिकप्टर सञ्चालनमा रोक लगाइएको छ। सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र अत्यधिक रुपमा व्यावसायिक हेलिकप्टरको उडान अवतरणमा रोक लगाउने निर्णय भएको हो।
निकुञ्ज कार्यालयले अनियन्त्रित रुपमा हुने गरेको हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको भन्दै व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको हो।
‘हेलिकप्टरको उडानबाट निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र रहेको बस्तीहरूमा अत्यधिक ध्वनि प्रदूषण समेत भएको छ,’ कार्यालयको निर्णयमा भनिएको छ, ‘अर्कोतर्फ वन्यजन्तु तथा आखेटोपहारसम्बन्धी आपराधिक गतिविधि समेत हुनसक्ने सम्भावना छ।’
हेलिकप्टर उडानबाट खुम्बु क्षेत्रको स्थानीय व्यापार, व्यवसाय तथा रोजगारीमा समेत नकारात्मक असर परेको जनगुनासो रहेको कार्यालयले जनाएको छ। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा खुम्बु क्षेत्रमा रहेका स्थानीय सरोकारवाला सरकारी गैरसरकारी संघरसंस्थाहरुको मङ्गलबार बसेको बैठकले हेलिकप्टर उडानमा रोक लगाएको छ।
‘२५ गतेको बैठकले सगरमाथा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र हुने हेलिकप्टर उडान तथा अवतरण कार्यलाई व्यवस्थित गर्न पर्यटक तथा स्थानीयको उद्धार र मालसामान ढुवानीका लागि प्रयोग गरिने हेलिकप्टरहरुबाहेक अन्य व्यावसायिक रुपमा सञ्चालन हुने हेलिकप्टरहरु पुस १७ गतेबाट पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ,’ हेलिकप्टर कम्पनीहरूलाई काटिएको पत्रमा भनिएको छ।








प्रतिक्रिया