
काठमाडौं, २६ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का थाइल्याण्डको बैंककमा आयोजित अन्तर्राष्ट्रिय माटो तथा जल सम्मेलनमा सहभागी भएर मंगलबार साँझ स्वदेश फिर्ता भएका छन् ।
संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठन (एफएओ)को आयोजनामा थाइल्याण्डको बैंककमा सोमबारदेखि सुरू भएको सम्मेलनमा भाग लिएर मंगलबार साँझ स्वदेश फिर्ता भएका हुन् ।
सम्मेलनबाट स्वदेश फिर्ता भएका ऊर्जामन्त्री खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खाद्यान्नको उत्पादन बढाउनका लागि गर्नुपर्ने माटो र पानीको सुरक्षाका बारेमा सम्मेलनमा आफूले कुरा उठाएको बताए ।
उनले पानीको अभाव व्यवस्थापन र माटोको क्षयीकरण रोक्दै दिगो कृषि र खाद्य प्रणालीको विकासमा उच्चस्तरीय कार्ययोजना आवश्यक रहेको बताएका थिए ।
ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरलाई सम्बोधन गर्न आफूले सम्मेलनमा ध्यानाकर्षण गराएको मन्त्री खड्काको भनाइ थियो ।
ऊर्जामन्त्री खड्काले सम्मेलनका क्रममा जल, ऊर्जा र खाद्य सम्बन्धलाई दिगोरूपमा सम्बोधन गर्न विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका थिए ।
तीन दिनसम्म चलेको सम्मेलनमा नेपाल, थाइल्याण्ड, आयसल्याण्ड, पाकिस्तान, कम्बोडिया, भुटान, चिली जापानलगायतका दुई दर्जनभन्दा बढी देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो ।








प्रतिक्रिया