८ असार २०८३, सोमबार

गढीमाई मेलामा आज बोकाको बली, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २४ मंसिर । बारा बरियारपुरस्थित लागेको विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलाको आज दोस्रो मुख्य दिन बोकाको बली प्रदान बिहानैदेखि सुरु भएको छ ।

भाकल पूरा भएर बोकाको बली चढाउन नेपालका साथै भारतको विभिन्न स्थानबाट आज लाखौं मानिस गढीमाई मेलामा आउने क्रम जारी रहेको छ ।

बोका लिएर आउने मानिसको आज बिहानैदेखि घुईचो लागेको छ । गढीमाई मेलाको चौतर्फी बाटो हुँदै बोका लिएर आउने हजारौँ मानिसको घुईचो देखिएको छ । तर ट्राफिक व्यवस्थापन फितलो भएको कारण बोका लिएर आउने मानिस कठिनाईका परिरहेको देखिएको छ ।

पञ्चवर्षीय गढीमाई मेलामा विगतको तुलनामा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त रहेको आयोजकको भनाई यथार्थमा विपरित देखिन्छ । नेपालको मुख्यद्वार वीरगञ्ज कलैया हुँदै बघवन चौकसम्मको ट्राफिक व्यवस्थापन राम्रो देखिन्छ । तर बघवन गाउँ छेउ पसाहा नदीको पुलदेखि मेलासम्मको ट्राफिक व्यवस्थापन फितलो रहेको छ ।

जता ततैबाट गलत साईडमा आएको सैयौं मोटरसाइकल, टेम्पो, बस, जिप, ट्याक्टरले पसाहा पुल बिहानैदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बिहान ७ बजेदेखि नै बोका लिएर सैयौं भक्तजन पुलमाथि अलपत्र परेका छन् । कैयौं मानिस पुलको तलबाट पानी हुँदै बोका लिएर गढीमाई मन्दिरतर्फ बढेको देखिन्छ । आइतबार साँझ पसहा पुलमा झण्डै १ घण्टा पैदल मानिस हिँड्ने अवस्था थिएन ।

त्यसैगरी, आइतबार बेलुकी ६ बजेपछि मेलाको चौतर्फी ट्राफिक व्यवस्था अलपत्र देखिएको थियो । पञ्चवर्षीय गढीमाई मेलाको अवसरमा मेला लागेको स्थान बरियारपुरदेखि १५१२० किलोमिटर टाढा देखिनै सवारी साधनको अत्यधिक चाँप देखिएको छ ।

बारा महागढीनाई नगरपालिका १ बरियारपुरस्थित विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ गते देखि सुरु भएको छ । गढीमाई मेलाको मुख्य दिन हिजो आइतबार करिब १० हजार राँगाको बली प्रदान गरिएको मेला आयोजक समितिले जनाएको छ ।

मन्दिरका मूल पुजारी मंगल चौधरीसँग मिलेर विशेष पूजा गरेपछि मूल तान्त्रिक रौतहट गुजरा नगरपालिका ३ सिमारी गाउँका उमाशंकर कछाडिया धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर देवीलाई चढाएपछि पशु बली सुरु भएको थियो । मूल तान्त्रिकले आफ्नो शरीरबाट रगत निकालेर चढाउने विधिलाई नर बली भन्ने गरिन्छ ।

विश्व प्रसिद्ध गढीमाई मेला प्रत्येक पाँच वर्षमा लाग्ने गर्छ । गत मंसिर १ गतेदेखि सुरु भएको गढीमाईको मेला मंसिर ३० गतेसम्म चल्ने छ ।