
कैलाली, २३ मंसिर । कैलालीमा एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् ।
शनिबार भजनि नगरपालिका–५ स्थित कौवाखेडा सीमाबाट सुनचाँदी, नगद र अन्य सामानसहित सशस्त्र प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका– १० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनार रहेका छन् ।
सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार पाँच सय ६१ रुपैयाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार चार सय ६० रुपैयाँ बराबरको आठ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका छ लाख ११ हजार छ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाकुडासहित नियन्त्रणमा लिएको जानकारी दिए ।
सामानको स्रोत नखुलेपछि नियन्त्रणमा लिएकाहरूलाई बरामद सुनचाँदी, नगद र अन्य सामानसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।








प्रतिक्रिया