३१ जेष्ठ २०८३, आइतबार

भौतिकमन्त्री दाहाल मनिला प्रस्थान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल ‘वातावरणीय दिगो यातायातसम्बन्धी १६औं उच्च स्तरीय एशियाली क्षेत्रीय सम्मेलन’मा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला प्रस्थान गरेका छन् । उनी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

दिगो विकासको लक्ष्यका लागि सहरी गतिशिलता, कार्बन उत्सर्जनमा न्यूनीकरण एवम् पर्यावरणमैत्री सहरहरुको विकास र सशक्तिकरणलगायतका सम्बन्धमा सम्मेलनमा छलफल हुने जनाइएको छ । सम्मेलनमा विभिन्न राष्ट्रका मन्त्री एवम् प्रतिनिधीहरुले आआफ्नो देशमा भइरहेका अभ्यास, चुनौती एवम् समाधानका उपायहरुका बारेमा धारणा राख्ने र विभिन्न सत्रहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुको प्रस्तुति एवम् छलफल हुने कार्यक्रम रहेको छ ।

सम्मेलनका क्रममा हुने दिगो लक्ष्यको वायु प्रदुषणसम्बन्धी लक्ष्यमा केन्द्रित रहने सत्रको अध्यक्षतासमेत नेपालका तर्फबाट मन्त्री दाहालले गर्ने कार्यतालिका रहेको छ । मन्त्रालयका तर्फबाट मन्त्री दाहालसँगै उनका सल्लाहकार हर्कराज राईसमेत कार्यक्रममा सहभागी छन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनसमेत सहभागी हुनेछन् ।

कार्यक्रम संयुक्त राष्ट्रसंघ, आर्थिक तथा सामाजिक मामिला विभाग, संयुक्त राष्ट्रसंघ क्षेत्रीय विकास केन्द्र, एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक लगायतका निकायहरुको आयोजनामा हुन लागेको हो ।

आजदेखि चार दिन चल्ने कार्यक्रममा सहभागी भएर मन्त्री दाहालसहितको टोली मंसिर २८ गते साँझ नेपाल फर्कने छ ।

मन्त्री दाहाललाई मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेललगायतले विमानस्थलको विशिष्ट कक्षबाट बिदाई गरे ।