
तुलसीपुर, २२ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देश बलियो बनाउनका लागि बलियो शक्तिको आवश्यकता रहेको बताएका छन् । आज तुलसीपुर उपमहानगरपालिका वडा न १९ को प्रशासनिक भवनको उद्घाटन गर्दै उनले विगतभन्दा वर्तमान धेरै उपलब्धि प्राप्त भएको बताए ।
तुलसीपुर उपमहानगरपालिक वडा नं. १९ का वडाध्यक्ष प्रेमनाथ योगीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री पोखरेलको प्रमुख आतिथ्यतामा भवन उद्घाटन गरिएको हो ।

कार्यक्रममा महासचिव पोखरेलले जनतामा निरासाको खेती गर्नेहरुका कारण समाजमा अराजकता बढेको बताए । पोखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा समस्या सिर्जना भएको बताए ।
कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाका अब १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको बताए । उनले यसै महिनामा कृषि, पशु शाखा, वडा र स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा सुरु गरेको बताए ।
नगरप्रमुख खड्काले वडाको प्रशासनिक कार्यालयसम्म आउने सडकलाई कालोपत्रे सुरुवात गरिने बताए ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १९ तोप्पापानीमा २०७४ सालमै शिलन्यास भएपनि निर्माण कार्य अधुरो रहेको थियो । वडाध्यक्ष प्रेमनाथ योगीले घोराही आँखा अस्पताल र बिजौरी छिल्लीकोट सडकखण्डकै नजिकमा सबै वडावासीको मध्यबिन्दुमा वडा कार्यालय भवन निर्माण गरिएको बताए ।








प्रतिक्रिया