१६ असार २०८३, मंगलबार

कांग्रेस कोशीको सम्मेलन आज, शेखर कोइरालाले बहिष्कार गर्ने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २२ मंसिर । नेपाली कांग्रेस कोशी प्रदेश स्तरीय पहिलो सम्मेलन आज (शनिबार) विराटनगरमा सुरु हुँदैछ ।

भेलाको उदघाटन सभापति शेर बहादुर देउवाले गर्दैछन् । उद्घटानका लागि देउवा शुक्रबार साँझ नै विराटनगर उत्रिसकेका छन् ।

भेलाको उद्घाटन बिहान ११ बजे विराटनगरस्थित मनास्लु पार्टी प्यालेसमा हुने तरखरमा छ । भेलामा सहभागीहरु विराटनगर आइसकेका छन् । देउवाले उद्घाटन गर्ने कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारीहरू विराटनगर पुगिसकेका छन् ।

विधानसम्मत प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएपनि पार्टीले पहिलोपटक सम्मेलन गर्न लागेको हो । सम्मेलनका लागि १४ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ ।

भेलामा प्रदेशभरका महासमिति सदस्य २८६ जना, महाधिवेशन प्रतिनिधि ३९२ जना, प्रदेश अधिवेशन प्रतिनिधि ८९६ जना, पार्टी प्रदेश कमिटिका १२१ जना कार्यसमिति, १४ वटै जिल्ला सभापति, २८ जना क्षेत्रीय सभापति, प्रदेश सभापति ५६ जना र भातृ तथा सुभेच्छुक संघसंस्थाका प्रतिनिधि सहभागी हुनेछन् । भेलालाई उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, लगायतले सम्बोधन गर्ने तयारी छ ।

संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालाले भने आफ्नै प्रदेशको सम्मेलनमा सहभागि नहुने जनाएका छन् ।

वरीयता विवाद भएपछि कोइराला सम्मेलनमा सहभागी नहुने भएको उनी निकट स्रोतले जानकारी दिएको छ ।

कोइरालाले आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गर्ने भएका हुन् । स्रोतका अनुसार, वरीयता विवाद भएपछि शेखर विराटनगरमा हुने सम्मेलनमा सहभागी नहुने भएका हुन् । उनले सभापति देउवापछिको वरीयतामा दाबी गरिरहेका छन् तर दोस्रो वरीयतामा उपसभापति खड्का छन् ।

मंसिर १८ गते डा. कोइरालाले विराटनगरमा पालिका सभापतिहरूको भेला आयोजना गरेका थिए । भेलामा १ सय १३ जना पालिका सभापति सहभागी भएको कोइराला पक्षले जनाएको छ ।