
भैरहवा, २० मंसिर । भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अंचलपुरमा महोत्सव सुरु भएको हो । स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने पर्यटन क्षेत्रको प्रचारप्रसारमा मद्दत गर्ने उद्देश्यसहित संघले महोत्सव आयोजना गरेको हो ।
बिहीबार महोत्सवको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानून संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताए । उनले मुलुकको आर्थिक अवस्था पहिलेकोभन्दा सुध्रिँदै गएको जनाउँदै व्यवसायीहरुलाई निराश नहुन आग्रह गरे । ‘निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर छ’, पौडेलले भने ।

उनले यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी मुलुक चलायमान बनाउने दाबी गरे । ‘सरकार जसरी हुन्छ निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न लागेको छ’, उनले भने, ‘उद्योगी व्यपारीका समस्या छन्, मजदुरका समस्या छन्, किशोर किशोरीको समस्या छन् । ती अब समाधान हुन्छन् भन्ने आम नागरिकमा विश्वास हुँदै गएको छ ।’ वर्तमान सरकार बन्ने बेला मुलुकको अवस्था ठिक नभएको तर यो सरकार बनेपछि हरेक कुरा समाधान हुँदै लयमा गइरहेको मन्त्री पौडेलले बताए ।
अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थल राष्ट्रकै गौरव भएकोले यसको सञ्चालनमा शंका नगर्न आग्रह गरे । ‘हालको टर्मिनल भवन निर्माण भए पनि त्यो अपुग रहेको बताउँदै अर्को भवन निर्माण गर्न तयारी भइरहेको उनले बताए ।
‘विमानस्थलमा अरु काम पनि बाँकी छ । पूर्ण क्षमताको विमानस्थल बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नेछौँ’, उनले भने, ‘एकाध समस्या आए पनि त्यसलाई समाधान गर्दै अगाडि बढ्दैछौँ । विमानस्थलबारे सरकारले गरेका निर्णयहरु क्रमशः कार्यान्वयन हुँदैछन् । निजि क्षेत्रले गर्ने कामहरु गर्नुपर्छ । विमानस्थल राम्रोसँग चल्छ । कसरी चल्छ, हामी चलाएर देखाउँछौँ ।’
अर्थमन्त्री पौडेलले भैरहवालाई अझै पूर्वाधार युक्त र पर्यटकलाई आकर्षित गर्नुपर्ने बनाउने बताए । उनले निर्माणधीन आयोजना देखाउदै निराशा छर्ने काम भएको गुनासो गरे । बुटवल–नारायाणघाट सडकमा केही समस्या देखिए पनि त्यसको समाधानको लागि सम्बन्धित देशसँग समन्वय गरिरहेको जनाए ।
नेकपा (एमाले)का उपाध्यक्षसमेत रहेका अर्थमन्त्री पौडेलले भैरहवालाई अझै पूर्वाधारयुक्त विकसित बनाउने सरकारले लगानी गर्दै जाने जनाए ।
लुम्बिनी प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेयले यो मुलुक पर्यटनकै लागि बनेको बताए । उनले भने, ‘हामीसँग लुम्बिनी छ, तर लुम्बिनी पर्यटक आउने बातावरण छैन । यसका लागि काम गरौं । पर्यटकलाई दुःख दिएर हुँदैन ।’ उनले जथाभावी प्रहरी चेकिङले पर्यटकले दुःख पाइरहेको बताए । पाण्डेयले तेस्रो मुलुकका लागि मात्रै पर्यटक भन्ने तर भारतीयलाई नभन्ने बानी रहेको जनाउँदै अब त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले महोत्सवले यहाँको आर्थिक अवस्थालाई बलियो बनाउने बताए । ‘आर्थिक गतिविधि धेरै हुँदा समग्र अर्थतन्त्रलाई फाइदा गर्छ’, उनले भने, ‘यसका लागि यस्ता महोत्सव कोशेढुंगा सावित हुनसक्छन् ।’ उनले नगरपालिकाले सबै क्षेत्रको एकीकृत विकास गरिरहेको जनाए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले अहिलेको अवस्था उद्योगी–व्यवसायी मैत्री नभएको भन्दै सरकारले निराशालाई आशामा बदल्न नसकेको बताए । ‘अहिले उद्योग–व्यवसाय धमाधम बन्द भइरहेका छन् । यसलाई उकास्न जरुरी छ’, उनले भने, ‘सरकारले सहुलियत दिएर वा अन्य उपाय खोज्न जरुरी देखिन्छ ।’
संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा निराशालाई आशामा बदल्ने प्रयास गरिएको जनाए । सबै उत्पादनको एकैथलोमा प्रदर्शन हुने भएकाले सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए । उनले मेलामा आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिक्न सक्ने जनाए । उनले व्यापार गरिरहेकाहरुका लागि यो मेला शिक्षा हुने र जो ब्यापार गरेर स्थापित भएका छन्, उनीहरुका लागि यो अध्ययन हुने बताए ।
गौतबुद्ध विमानस्थललाई पूर्णक्षमतामा चलाउनु पर्ने, भिषा, म्यानपावर, श्रमस्वीकति, नोअब्जेक्सन लेटर, स्वास्थ्य परीक्षण संस्थालगायत तत्काल खोल्न उनले आग्रह गरे ।










प्रतिक्रिया