२४ असार २०८३, बुधबार

उपनिर्वाचन मार्फत जनताले प्रकट गरेको अभिमतलाई पार्टीको एजेण्डा बनाउछौँ : प्रचण्ड

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तह उपनिर्वाचनमा पार्टीलाई अमूल्य मतदान गर्ने सम्पूर्ण मतदाताहरुप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

उनले निर्वाचित सबै जनप्रतिनिधिहरुलाई बधाई दिँदै निर्वाचनमा अहोरात्र खट्ने पार्टीका नेताकार्यकर्ता, जनमत निर्माणमा योगदान गर्ने जनसमुदाय, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई धन्यवाद ज्ञापन पनि गरेका हुन् ।

प्रचण्डले भने, “हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रुपमा लिएको थियो । हामीले पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै यो निर्वाचनलाई हाम्रो आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा लिएका थियौं ।”

उनले पार्टीको विजयलाई उत्साहजनक सफलतालाई संकेत गर्दै भने, “निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट हाम्रो पार्टीले उत्कृष्ट सफलता प्राप्त गरेको छ । विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ ।”

नेपाली जनताको विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरुको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन र जनताको अवस्था बदल्न महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा रहेको उनले उल्लेख गरेका छन् । उनले भने, “हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीय तहहरूले उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन्, र आगामी दिनमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध छ ।”

उनले यो उपनिर्वाचन मार्फत जनताले प्रकट गरेको अभिमतलाई पार्टीको एजेण्डा र एकल पहिचानका साथ जनादेशको रुपमा लिने घोषणा गर्दै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।