
काठमाडौं, १२ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले सूर्य पलाईसँग प्रायोजन सम्झौता गरेको छ । रोयल्सले स्ट्रेन्थ पार्टनरको रुपमा सूर्य प्लाईको साथ पाएको हो ।
सूर्य प्लाईको तर्फबाट सवारागी प्लाईवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सवारागी र रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि सिइओ खड्काले रोयल्सलाई साथ दिने संस्थालाई समर्थकबाट पनि उत्तिकै साथ मिल्ने विश्वास व्यक्त गरे । ‘प्लाईवुड क्षेत्रमा अग्रणी रहेको सूर्य प्लाई नम्बर १ संस्था हो । सुदूरपश्चिम नेपाली क्रिकेट समर्थकमाझ निकै लोकप्रिय रहेको अवस्थामा समर्थकहरुले एनपीएलको सुरुवाती चरणमा लगानी गरिरहेको संस्थाहरुलाई आफ्नो स्थानबाट साथ दिनुहुनेछ भन्ने आशा छ,’ खड्काले भने ।
प्रबन्ध निर्देशक सरावगीले नेपाली खेलकुद विकासका लागि एनपीएलले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै सूर्य प्लाईको साथ रहने विश्वास दिलाए । ‘सुदूरपश्चिम रोयल्ससँग हातेमालो गर्न पाउँदा निकै खुसी छौँ । खेलकुद विकासमा हामी सधै सकारात्मक छौँ र म आफै पनि कुनै समय मेचीको प्रतिनिधित्व गर्दै टुँडिखेलमा क्रिकेट खेलेको थिएँ । खेलकुदको विकासका लागि नीजि क्षेत्रको आवद्धता हुनुपर्ने बुझेर नै हामीले रोयल्ससँग हातेमालो गरेका हौँ,’ उनले भने ।
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्र सिंह ऐरी रहेका छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । रोयल्सले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई) लाई टिममा समावेश गरेको छ ।
त्यस्तै, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठलाई अक्सनमार्फत टिममा भित्र्याएको थियो । ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ । अर्जुन र नरेन भने हाल यू-१९ टोलीमा व्यस्त छन् ।








प्रतिक्रिया