२८ असार २०८३, आइतबार

आइएफआरसी महासचिव चापागाईँद्वारा ‘सिड्नी शान्ति पुरस्कार’ ग्रहण

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । यस वर्षको विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) लाई प्रदान गरिएको छ । सिड्नी विश्वविद्यालय अष्ट्रेलिया, सिड्नी पिस फाउण्डेशनद्वारा स्थापित पुरस्कार विश्वमा शान्ति, न्याय, अहिंसा तथा मानवीय सेवामा अतुलनीय योगदान पुर्याएबापत हरेक वर्ष प्रदान गरिन्छ ।

सिड्नीमा सोमबार आयोजित कार्यक्रममा आइएफआरसीका महासचिव जगन चापागाईँले पुरस्कार ग्रहण गरेको आइएफआरसीले जनाएको छ । आइएफआरसीको सर्वोच्च पद महासचिवमा पुग्ने चापागाईँ पहिलो नेपाली हुन् । रेडक्रस तथा रेडक्रिसेन्ट अभियानलाई सशक्त बनाउन उनले अतुलनीय नेतृत्व प्रदान गर्दै आएका छन् ।

यही नेतृत्वका कारण महासचिवमा दोस्रो कार्यकालका लागि पनि सेवारत छन् । विशेष गरेर कोरोना महामारीका समयमा सङ्कटासन्न समुदायलाई मानवीय सहयोगका लागि विश्वव्यापी रूपमा उनले निर्वाह गरेको भूमिका ऐतिहासिक रहेको बताइएको छ । आइएफआरसीमा नेपाल रेडक्रससहित विश्वका एक सय ९१ देशका रेडक्रस आवद्ध छन् ।

आइएफआरसीद्वारा जारी गरेको विज्ञप्तिका अनुसार पुरस्कार ग्रहण गर्दै महासचिव चापागाईँले आइएफआरसीले ‘सिड्नी शान्ति पुरस्कार’ प्राप्त गर्नु गौरवको विषय रहेको चर्चा गर्दै यसले आगामी दिनमा रेडक्रसका स्वयंसेवकलाई अझ मानवीय सेवामा तल्लीन हुन उत्प्रेरण मिल्ने बताए । सिड्नी पिस फाउण्डेसनका निर्देशक मेलानी मौरिसनले महासचिव चापागाईँलाई पुरस्कार प्रदान गरेकी थिइन् ।