१७ असार २०८३, बुधबार

रूपन्देही सुपरलिग : शंकरनगरलाई हराउँदै बुटवल राइनोज विजयी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, १ मंसिर । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा डिभिजन ‘बी’को शनिबारको खेलमा बुटवल राइनोज विजयी भएको छ । बुटवलले शंकरनगर क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै विजयी भएको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी प्रतियोगितामा जितका लागि पाएको १ सय ८ रनको लक्ष्य बुटवल राइनोजले ७ विकेट गुमाएर भेट्टायो । उसले मौसमका कारण ४० ओभरमा छोट्याइएको खेलमा ३५ ओभर २ बल खेल्दै लक्ष्य पूरा गरेको हो ।

बुटवल राइनोजका लागि नितिन त्रिपाठीले अविजित ४६, शिव कुँवरले २० र विपिनविक्रम शाहीले १९ रनको योगदान दिए । बलिङमा शंकरनगरका रुपेश बश्यालले २ तथा नवीन भण्डारीले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको शंकरनगरले ४० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ७ रन बनाएको थियो । उसका लागि रुपेश बश्यालले २०, अबय विश्वकर्माले १७, अभिनव अधिकारीले १४ र जय गोदारले १२ रन जोडे पनि जितका लागि पर्याप्त भएन ।

बलिङमा बुटवल राइनोजका शिव कुँवर र विपिनविक्रम शाहीले २–२ तथा सुप्रिम कँडेल, विकाश साहु र शुभम घमालले १–१ विकेट हात पारे । खेलमा शिव कुँवर प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुई चरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।