
काठमाडौं, ३० कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी भएको बताएका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल केन्द्रीय समिति छैटौँ पूर्ण बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले एमाले जनताकोबीचमा लोकप्रिय भएपनि एक्लै देश सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो ।
‘लोकप्रिय मतमा नेकपा एमाले नै अगाडि छ, तर सरकार बनाउन पुग्ने मत पुगेको छैन, सरकारको नेतृत्व गरिरहेका छौँ, तर राष्ट्रको नेतृत्व गर्ने निर्णायक मत प्राप्त गरेका छैनौँ’, पोखरेलले भने ।
आउने चुनाव सबै दलले छुट्टाछुट्टै लड्ने निर्णय गरेको बताउँदै पोखरेलले यसको सबैभन्दा बढी लाभ नेकपा एमालले लिने बताए । अहिले कांग्रेससँग सहकार्य गरे पनि आउने चुनावमा एमाले कांग्रेस अलग्गै चुनाव लड्ने उनले स्पष्ट पारे । ‘कांग्रेससँग सहकार्य र प्रतिष्पर्धा पनि सँगसँगै छ भन्ने सच्चाइलाई बुझेर हामीले अगाडि बढ्नु पर्छ’, पोखरेलले भने ।
सरका परिवर्तन हुन्छ भन्ने गलत हल्ला फैलाइएको कारण जति हुनु पर्ने त्यति काम हुन नसकेको पोखरेलले बताए । तर अहिले ती हल्ला निष्तेज भएको उनले प्रष्ट पारे । ‘एमाले र कांग्रेसबीच सरकारलाई निरन्तरता दिने विषयमा गहिरो समझदारी छ, यद्यपि सरकार परिवर्तन गर्न चाहनेहरूको प्रयास जारी छ’, उनले भने ।
अहिले समाजमा फैलँदै गएको सामाजिक अराजकता ठुलो चुनौतीको रूपमा रहेको उनले बताए । त्यो सामाजिक अराजकता चिर्न नसक्ने हो भने मुलुकको समृद्धि अघि बढ्न नसक्ने पोखरेलको भनाइ छ । समाजमा आशा जागृत गर्ने गरी संगठित शक्ति नलाग्ने हो भने निराशा चिन नसक्ने पोखरेलले धारणा राखे ।
नेपालका संस्कृति मूल्य मान्यतालाई विगठन गर्ने पनि सुनियोजित प्रयास भइरहेका बताउनुभयो । विभिन्न खालका अतिवाद माथि वैचारिक रूपमा विजय प्राप्त गर्न आवश्यक रहेको पोखरेलले स्पष्ट पारे ।
आजको आर्थिक सङ्कटका समाधानको सामर्थ्य एमालेसँग मात्रै रहेको पनि उनले दाबी गरे । अहिले नीति, कार्यक्रम र बजेट पास भइसकेकोले धेरै काम गर्न नसकेको भए पनि आउने वर्षबाट यसलाई सुधार गरेर लैजान सकिने पोखरेलले स्पष्ट पारे । कतिपय सुधारका सन्दर्भमा केही समेको प्रतीक्षा गर्न आवश्यक हुने पनि उनले बताए ।
देशको विकासको आधार तयार गर्नको लागि सबैभन्दा पहिला शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार गर्न आवश्यक रहेको पोखरेलले बताए ।
मुलुकलाई अगाडि बढाउन अहिलेको अन्यौलतालाई चिर्नु पर्ने पोखरेलले बताए । सरकारका विरुद्ध नियमित रूपमा गरिएका गलत प्रचार चिर्नको लागि एमालेले मङ्सिर ७ गते विशेष कार्यक्रम आयोजना गरेको उनले जानकारी दिए । एमालेले आयोजना गर्ने जागरण सभाले जनतालाई पार्टीसँग थप जोड्ने उनले विश्वास व्यक्त गरे ।








प्रतिक्रिया