
काठमाडौं, २९ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक यू-१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही दुई लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
टिममा समावेश अफिसियलहरूलाई भने जनही एक लाख ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
संयुक्त अरब इमिरेट्स (युएई)को अजमानमा बुधबार सम्पन्न खेलमा घरेलु टोली युएईमाथि आठ विकेटको जित निकाल्दै नेपालले पहिलो पटक यू-१९ विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।
नेपालले ६ खेलबाट १० अंक जोड्दै विश्वकपमा स्थान बनाएको हो ।
त्यस्तै, युएईले पनि समान खेलबाट समान १० अंक जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो । यू-१९ विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ ।
विश्वकपका साथै नेपाल यू-१९ एसिया कपका लागि पनि छनोट भएको छ । एसिसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यू-१९ महिला एसिया कपका लागि पनि नेपाल छनोट भएको हो । यू-१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश र मलेसिया सहभागी हुनेछन् ।









प्रतिक्रिया