२३ असार २०८३, मंगलबार

समान विकासका लागि विश्वका सभ्यताको आदानप्रदान आवश्यक : वरिष्ठ उपाध्यक्ष पोखरेल

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेङ्सु (चीन), २९ कार्तिक । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समान विकासका लागि विश्वका सभ्यताको आदानप्रदान आवश्यक रहेको बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको आयोजनामा चीनको जेङ्सु प्रदेशको नानजिङमा दोश्रो ग्लोबल साउथ थिन्क ट्यांक्स डाइलगको “मानव सभ्यताको गहिरो अध्ययनबाट समानता र समृद्धि” विषयक सत्रमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मानवीय समान विकासकालागि विश्वका विभिन्न सभ्यताको आदानप्रदान आवश्यक रहेको चर्चा गर्दै यसले सबै सभ्यतालाई थप विकास गर्न सघाउने बताएका हुन् ।

बरिष्ठ उपाध्यक्ष पोखरेलले सभ्यताको अनुभव आदानप्रदानले विश्वका सबै मुलुकहरुलाई आपसी समझदारी बढाउन, असमझदारी घटाउन र शान्ति तथा सुखमा ठूलो योगदान दिन सघाउने उल्लेख गरे । प्रकृतिले धेरै श्रोतहरुको उपहार दिएको नेपालमा रहेका प्राकृतिक श्रोतहरुलाई समग्र मानव विकासको हितमा प्रयोग गर्न ग्लोबल साउथका बुद्धिजीवीहरुले अध्ययन, अनुसन्धान तथा प्रचार गरेर सघाउन उनले आग्रह गरे । नेपालको जलविद्युत, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न ग्लोबल साउथका देशहरुले उपयुक्त सहजीकरण गरेमा नेपालका प्राकृृतिक श्रोतलाई ग्लोबल साउथका जनताहरुको समृद्धिका लागि उपयोग गर्न सकिने पोखरेलको भनाइ छ ।

हिमाल र इतिहास साक्षी रहेको चीन र नेपालको सदियौंदेखिको समस्यारहित सम्बन्धलाई थप सुदृढ बनाउन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर तेश्रो हप्ता हुने चीन भ्रमण थप ऐतिहासिक र उपलब्धि मुलक हुने उनले बिश्वास ब्यक्त गरे । उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सरकार अग्रसर रहेको र यसमा चीन लगायतका मित्र राष्ट्रको महत्वपूर्ण सहयोग हुने आशा ब्यक्त गरे ।

विश्वको ८५ प्रतिशत जनसंख्या ओगटेको ग्लोबल साउथका जनताहरुको जिडिपिमा ४० प्रतिशत मात्र हिस्सा रहेको वर्तमान अवस्थालाई परिवर्तन गरेर गरिबको क्षमता विकासमा सामुहिक योगदान आवश्यकता रहेको उनले बताए ।

चिनिया कम्युनिष्ट पार्टी बिदेश बिभागको निमन्त्रणामा नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा एमालेको पन्ध्र सदस्यीय प्रतिनिधि मण्डल अहिले चीन भ्रमणमा छ ।

भ्रमण टोलीमा पार्टी सचिव लेखराज भट्ट, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, पार्टी स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य शान्ति ढकाल, सम्झना देवकोटा, सरिता भुषाल, सल्लाहकार परिषद् सदस्य टंकप्रसाद बराल, निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारी, मधेश प्रदेश उपसचिव मोहम्मद कैस, विदेश विभाग सदस्य डा. दिपेन्द्र श्रेष्ठ, प्रचार विभाग सदस्य दीपक ज्ञवाली, नेपाल जनजाती महासंघका केन्द्रिय सदस्य रोशनी मेचे, गौरीगञ्ज नगरपालिकाका उपाध्यक्ष पुजन न्यौपाने, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका कार्यकारी प्रमुख आशिष जोशी रेग्मी सहभागी छन् ।