१२ असार २०८३, शुक्रबार

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा प्रवेश

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, २७ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य जंगबहादुर शाही नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

दैलेखस्थित नेकपा एमाले पार्टी कार्यालयमा एक कार्यक्रमबीच शाही एमालेमा प्रवेश गरेका हुन्। शाहीलाई एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले पार्टीमा स्वागत गरे।

यतिबेला नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेशको प्रथम अधिवेशन प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा जारी छ। उक्त अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल कर्णाली पुगेकै समयमा पार्टीका केन्द्रीय सदस्य समेत रहेका शाही एमालेमा फर्किएका हुन्।

दैलेखको महाबु गाउँपालिका निवासी शाही एमाले जिल्ला कमिटी दैलेखको २०७६ सालमा जिल्ला सचिव समेत थिए। एमाले स्रोतका अनुसार उनलाई मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा एमालेको तर्फबाट महाबु गाउँपालिका दैलेखको अध्यक्षको उम्मेदवार बनाउन लागिएको छ। यस अघि गत कात्तिक २४ गते बसेको एमाले सचिवालय बैठकले ३३ ठाउँका उम्मेदवार तय गरेको थियो। महाबुको भने टुंग्याउन बाँकी थियो। सो ठाउँमा उनै शाहीलाई उम्मेदवार बनाउने तयारी एमालेले गरेको हो।

नेता शाही २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट महाबु गाउँपालिका दैलेखको अध्यक्षमा निर्वाचित भएका थिए भने २०७९ को स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट शाही उम्मेदवार बनेर करिब १९ सय मत प्राप्त गरेका थिए। यस्तै, दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको हृदयघातका कारण २०७९ माघ २७ गते निधन भएको थियो। अध्यक्षलाई उपचारका लागि दैलेख बजार ल्याउँदै गर्दा बाटोमा निधन भएको थियो। उनको निधन भएपछि यसपालिकामा निर्वाचन हुन लागेको हो।

गुरुङले ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गरेका थिए। गुरुङले दुई हजार नौ सय सात मत प्राप्त गरेका थिए भने उपाध्यायले दुई हजार पाँच सय १९ मत प्राप्त गरेका थिए।

यस्तै, महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसले युवा नेता झलकबहादुर भण्डारी, नेकपा माओवादी कुन्द्रले जंगबहादुर बराल ‘त्रिलोचन’लाई उम्मेदवार बनाइसकेको छ।