
काठमाडौं, २७ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संविधान कार्यान्वयनको १० वर्षका सबल र दुर्बल पक्ष समीक्षा गरी संशोधन गर्दै अघि बढ्नु पर्ने बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले सोही मूल कामको लागि नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता समीकरण गरेका बताएका हुन् । ‘संवैधानिक, कानुनी र संरचनागत सुधार गर्ने उद्देश्यका साथ हामीले सरकार गठन गरेका छौँ’, उनले भने ।
यस काममा नेकपा एमाले र नेपाली कांग्रेसको मूलभूत जिम्मेवारी भए पनि देशका सबै राजनीतिक दलसँगको संवाद, छलफल र सहमतिबाट संविधान संशोधनको काम हुने पोखरेलले स्पष्ट पारे । यसकै आधारमा मुलुकलाई अघि बढाउने उनको भनाइ छ । ‘हामी २०८४ सम्म यो काम सम्पन्न गरेर अगाडि बढ्छौँ’, उनले भने ।
धेरै दलमा जनमत विभाजन हुँदा प्रमुख दलहरू माथि साना दलहरूले शासन गर्ने परिपाटी रोक्नलाई २०८४ को निर्वाचन अघि नै संविधान संशोधन गरिने पोखरेलले बताए । ‘त्यो परिपाटिलाई चुनावबाट अन्त्य गर्न हिसाबले हामीले संविधान र कानुन सुधारको विषयलाई अघि बढाएका हौँ’, उनले भने ।
पोखरेलले संविधान र कानुन सुधारले मात्रै अघि बढ्न नसकिने बताउँदै विकास र समृद्धिको लागि संरचनागत सुधार आवश्यक रहेकोमा जोड दिए । ‘यो संविधानको विषय मात्र होइन, संविधान, कानुन र संरचनागत सुधार, यी तीनवटै विषयलाई हामीले अगाडि लैजान्छौँ’, पोखरेलले भने ।
पोखरेलले कांग्रेस र एमाले मिलेर साना दललाई समाप्त पार्न नखोजेको बताउँदै जसले राजनीति गर्न चाहन्छ उसले आफूलाई बलियो भने बनाउनु पर्ने स्पष्ट पारे । साना दलले म्याजिक नम्बर पायौँ भन्दै शासन गर्ने परम्परा अन्त्य हुनु पर्ने पोखरेलले बताए ।
जनताको जनादेश पाउने दलले नै शासन गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । ‘लोकतन्त्रमा सानो भएर शासन गर्ने कुरा उचित होइन, त्यो अन्त्य हुनुपर्छ’, उनले भने।
पोखरेलले जुन राष्ट्रिय उद्देश्य बोकेर नेकपा एमाले र कांग्रेस अघि बढिरहेका छन् त्यस उद्देश्यमा सहयोग गर्नको लागि केन्द्रदेखि जिल्ला तहसम्म दुई दलीय संयन्त्र बनाउन लागिएको पनि जानकारी दिए । ‘यो सरकाले गर्ने काम मात्र होइन, राजनीतिक दलको पनि भूमिका आवश्यक हुन्छ, त्यस अर्थमा प्रमुख दलहरू मिलेर त्यो वातावरण तयार गर्नुपर्दछ भन्ने मान्यताको आधारमा हामीले दुई दलीय संयन्त्र बनाएका हौँ’, पोखरेलले भने ।
नागरिकमा पुराना दल प्रति बढ्दै गएको निराशा चिर्नको लागि पनि कांग्रेस र एमाले एक ठाउँमा उभिएका पोखरेलले बताए । अहिले नागरिकमा त्यो निराशा चिरिँदै गएको उनले दाबी गरे । प्रमुख दलले सरकार बनाउँदैमा नागरिकमा देखिएको निराशा नचिरिने बताउँदै उनले नागरिकमा निराशा पैदा हुनुको कारण खोजी गरी त्यसको समाधानको लागि काम गर्नुपर्नेमा जोड दिए ।
आज राजनीतिक अस्थिरता र अराजकताले समाजलाई पीडा दिएको उनले बताए । त्यसबाट समाजलाई मुक्ति दिन पनि प्रमुख राजनीतिक दल मिल्नु परेको उनले स्पष्ट पारे ।








प्रतिक्रिया