
भैरहवा, २४ कात्तिक । भैरहवामा २५औं संस्करणको रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबारबाट सुरु प्रतियोगिताको डिभिजन ‘बी’अन्तर्गतको उद्घाटन खेलमा स्टार क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ । स्टारले नेपथ्य ज्ञानोदय क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै जित निकालेको हो ।
यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपथ्यले निर्धारित ५० ओभरको खेलमा २० ओभर १ बल खेल्दै सबै विकेट गुमाई ५७ रनको झिनो योगफल बनायो । उसका लागि भुवन गैरेले १६ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
उसलाई झिनो स्कोरमा रोक्न बलिङमा स्टार क्रिकेटका शुभम खनाल र नरबहादुर सार्कीले ४/४ विकेट लिए ।
यस्तै, निरज मौर्य र बिजवल बश्यालले १/१ विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको स्टार क्रिकेटले ९ ओभर २ बलमा १ विकेट गुमाउँदै ५९ रन बनायो र जित निकाल्यो । उसको लागि आयन खानले २३ तथा राहुल नाउले नटआउट १३ र कृष्ण विकले अविजित ११ रन बनाए ।
बलिङमा नेपथ्यका सन्तोष क्षेत्रीले १ विकेट लिए ।
खेलमा नरबहादुर सार्की म्यान अफ द म्याच घोषित भई १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा कात्तिक २४ देखि मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु सुरु भएका छन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका सचिव गुरुङले बताए ।















प्रतिक्रिया