१९ असार २०८३, शुक्रबार

ओली नेतृत्वको सरकार कांग्रेस–एमाले मिलेर बनेको होइन : प्रचण्ड

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २४ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी ओली नेतृत्वको सरकार कांग्रेस–एमाले मिलेर नबनेको बताएका छन् ।

माओवादी केन्द्रको नेतृत्ववाला सरकारले विचौलिया, दलाल र पूँजीपतिको सेटिङ भत्काएपछि आत्तिएकाहरुले एमाले र कांग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएपछि सरकार परिवर्तन भएको उनको भनाइ छ ।

योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल थाहा नगरपालिकाको दोस्रो नगर अधिवेशनमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले आफूहरुको नेतृत्वको सरकारले भ्रष्टाचारीलाई धमाधम पक्राउ गर्न थाल्दा आत्तिएकाहरुले कुनै एउटा व्यवसायीको घरमा बसेर सरकार ढाल्ने कथा लेखेको बताए ।

आफू अघिल्लो सरकारमा सके राम्रो गर्छु, तर नराम्रो गर्दिनँ र नराम्रो गर्न दिन्न भन्ने संकल्पसहित आएको र सोहीअनुसारको काम गर्दा दलालहरुको सात्तो गएको उनको भनाइ छ ।

आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय मञ्चमासमेत शीर उठाउनेगरी राम्रा काम भएको बताउँदै प्रचण्डले सयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनबारे आफ्नो धारणा सुनेर संघका महासचिव नेपाल आएर नेपालबाट अन्तर्राष्ट्रिय सन्देश दिएको बताए ।

प्रचण्डले कांग्रेस–एमालेले चाहेअनुसार माओवादी आन्दोलन नमर्ने दाबी गरे । ३२ सीट हुँदा त एमाले–कांग्रेसको सात्तो गएको भन्दै उनले अबको निर्वाचनमा माओवादीले बहुमत ल्याउँदा उनीहरुको होस नै उड्ने जिकिर गरे ।

उनले अब चाँडै माओवादीले देशको सबै जिल्ला, स्थानीय तहमा आन्दोलनको आधीबेरी सिर्जना गर्ने बताए । प्रचण्डले आफू अझै ५–७ वर्ष स्वस्थ हुने र नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नगरी विश्राम नलिने बताए ।

‘संसदीय पुराना खेलाडी जालझेल गर्न सिपालु, तर हामीले गरेको कामको बारेमा जनतामाझ लान नसकेको कारण हामी केही पछि परेका हौं कि भन्ने भान भएको छ’, प्रचण्डले भने ।

हालको सरकारले सय दिनमा गरेको भनेर सार्वजनिक गरिएको कार्यक्रम आफ्नो कार्यकालमा भएको कार्यक्रमको फेरिहस्त भएको उनले बताए ।