२५ असार २०८३, बिहिबार

एमाले सचिवालय बैठकले के-के निर्णय गर्‍यो ?

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । नेकपा (एमाले)को सचिवालय बैठक सम्पन्न भएको छ ।

शनिबार सम्पन्न बैठकले सिंगो पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ । बैठकले निर्वाचनको लागि सिफारिस भई आएका पार्टीका उम्मेदवारको नाम पनि अनुमोदन गरेको छ ।

‘निर्णय भई आएका उम्मेदवारहरूको नाम अनुमोदन गर्ने काम गरेको छ र सिंगो पार्टी पंक्तिलाई निर्वाचनमा नेकपा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान पनि गरेको छ’, बैठक पछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

स्थानीय तह उपनिर्वाचनमा सत्ता सहयात्री दलसँग पनि स्वस्थ प्रतिस्पर्धा हुने ज्ञवालीले जानकारी दिए । निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा राजनीतिक दलहरूसँग सहकार्य हुनसक्ने उनले बताए ।

बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिमा आएका नयाँ घटनाक्रम र त्यसले नेपालमा पार्ने अनुकूलता र चुनौतीका विषयमा पनि बैठकमा समीक्षा भएको उनले जानकारी दिए । बदलिँदो अन्तर्राष्ट्रिय घटनाक्रमलाई ध्यानमा राखी राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग सन्तुलित, असल र राष्ट्रिय हितको सम्बन्धलाई अघि बढाउन सरकारलाई बैठकले सुझाव दिएको ज्ञवालीले बताए ।

बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा पनि गरेको उनले बताए । सरकारको कामलाई अझ प्रभावकारी बनाउन बनेको दुई दलीय संयन्त्रको बारेमा पनि बैठकमा छलफल भएको छ । दुई दलको बीचमा निरन्तर संवाद र सहमतिका लागि कार्यदल बनेको उनले जानकारी दिए ।

त्यस्तै, कोशी प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारी माथि पार्टीको प्रदेश कमिटीले गरेको कारबाहीलाई बैठकले अनुमोदन गरेको छ । उनलाई पार्टी सदस्यतासहित सबै जिम्मेवारीबाट निलम्बन गरिएको छ । उनी माथि हुने छानबिनमा पार्टीले पूर्णपुरमा सहयोग गर्ने निर्णय पनि बैठकले गरेको ज्ञवालीले जानकारी दिए ।

मंंसिर ७ गते पार्टीका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीले आयोजना गर्ने जागरण सभालाई प्रभाकारी बनाउने पनि बैठकले निर्णय गरेको छ । त्यसका लागि जनसंगठनहरुलाई परिचालित गर्ने बैठकले निर्णय गरेको छ ।