२२ असार २०८३, सोमबार

रूपन्देही सुपरलिग शनिबारदेखि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २३ कात्तिक । २५औं संस्करणको रुपन्देही सुपरलिग शनिबारदेखि हुने भएको छ । मुलुकमै जिल्लास्तरमा ५० ओभरको लिग रुपन्देहीमा मात्रै आयोजना हुँदै आएको छ ।

२४ वटा संस्करण सफलतापूर्वक सम्पन्न गरेको रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबारदेखि २५औं संस्करण हुन लागेको आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

संघका सचिव संजय गुरुङले २०५३ सालदेखि सुपरलिग आयोजना हुँदै आएको बताए । बीचमा ३ वर्ष लिग सञ्चालन हुन नसके पनि अन्य वर्षहरुमा नियमित हुँदै आएको छ ।

यसपटक नेपाल सुपरलिगका कारण दुई चरणमा रुपन्देही सुपरलिग हुनेछ । पहिलो चरणमा कात्तिक २४ देखि मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका सचिव गुरुङले बताए ।

प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन् ।

संघका अध्यक्ष हरिबहादुर थापाले सुपरलिगले नयाँ–नयाँ खेलाडी उत्पादनमा टेवा पुर्‍याउँदै आएको बताए । ‘जिल्लास्तरमा हुने यो प्रतियोगिता मुलुकका अन्य जिल्लामा हुँदैन’, उनले भने, ‘यो प्रतियोगिताका उत्पादन खेलाडीहरु आज राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छन् । यसैले पनि सुपरलिगको महत्व अझै फराकिलो हुँदै गएको छ ।’ उनले सहयोगी दाता र संघको टिमको निरन्तरको प्रयासले सुपरलिगलाई मुलुकमै स्थापित गराउन सफल भएको बताए ।

संघका कोषाध्यक्ष एवं सुपरलिग संयोजक निरजप्रताप खाँणले सिद्धार्थनगर नगरपालिकाले प्रतियोगितामा सहकार्य गरेको जनाए । उनका अनुसार भैरहवाको सगरमाथा कत्था मिलले विजेताको पुरस्कार प्रायोजन गरेको छ ।

यस्तै, भैरहवाकै वि.के. ज्वेलर्सले उपविजेता पुरस्कार र प्रत्येक खेलको म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग वाािणज्य संघका वरिष्ठ उपाध्यक्ष एवं न्यू पवित्रा स्टोर्सका सञ्चालक नेत्रप्रसाद आचार्यले प्रायोजन गरेका छन् ।