
मनाङ, २३ कार्तिक । नेकपा (एमाले) जिल्ला कमिटी मनाङको अध्यक्षमा पोल्देन छोपाङ गुरुङ चयन भएका छन् । पाँचौं जिल्ला अधिवेशनबाट गुरूङ सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
निवर्तमान अध्यक्ष काप्ली गुरूङको अध्यक्षता र पार्टी उपमहासचिव एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङको आतिथ्यतामा भएको अधिवेशनबाट उपाध्यक्षमा झलकबहादुर गुरुङ चयन भए भने सचिवमा राजनबहादुर गुरुङ, उपसचिवमा मीना गुरुङ र छिरिङ गुरुङ चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरूङले राजनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिन एमाले र काँग्रेस मिलेर सरकार बनाएको बताए । सरकारले सय दिन पार गर्दा धेरै सुधारका सकारात्मक काम अघि बढेको उनको भनाइ छ ।
अधिवेशनमा एमालेका केन्द्रीय सदस्यद्वय भीमबहादुर कार्की र जमीन्द्रमान घले, गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दवाडी, प्रदेश कमिटीका सदस्यहरु, नेकपा एमाले लमजुङका अध्यक्ष राजकुमार विष्टलगायतको उपस्थिति थियो ।









प्रतिक्रिया