
-अन्जनी कुमार अधिकारी, उदयपुर, २३ कात्तिक । उदयपुरमा छठ पर्व आपसी सद्भावका साथ भव्यरुपमा सम्पन्न गरिएको छ ।
विशेष गरी मिथिला क्षेत्रमा मुलतः मधेशी समुदायको मुख्य पर्वका रुपमा मानिँदै आएको छठ पर्व पछिल्लो समय पहाडी समुदायमा महिलाहरू पनि उत्तिकै सहभागी हुँदै आएका छन् । यसले आपसी सद्भावलाई मजबुत बनाएको छ ।
देशको भित्री मधेशमा पर्ने उदयपुर जिल्लाको गाईघाट, कटारी, बेल्टार र रामपुर क्षेत्रमा छठ पर्व विभिन्न समुदायले एक आपसमा मिलेर भव्य रुपले मनाएका हुन् । त्रियुगा नदी किनारमा विभिन्न समुदायका महिलाहरुले एकै ठाउँमा जम्मा भएर हिजो कात्तिक शुल्क षष्ठी तिथीको साँझ अस्ताउँदो सूर्यलाई र भोलिपल्ट आज सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घसहित पूजा अर्चना गरेर आफूले चिताएको मनोकामना पूर्ण होस् भनी यो वर्षको छठ सम्पन्न गरेका हुन् ।
उदयपुरमा पछिल्लो समय छठको व्रत गर्नेहरु बढ्दै गएको र यसको महत्वसमेत उत्तिकै बढ्दै गरेको स्थानीयहरू बताउँछन् । छठको अर्को विशेषता सबै जातजाति, ठूलासाना एकै ठाउँमा जम्मा भएर पूजा अर्चना गर्नु रहेको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष केशव अधिकारीले बताए ।
किम्बदन्ती अनुसार परापूर्व कालमा पाँच पाण्डव र कौरवहरुबीच युद्ध हुँदा पाच पाण्डव दाजुभाइहरु बिरामी परेकामा आफ्ना गुरुलाई उपचारका बारेमा जिज्ञासा राख्दा गुरुले कार्तिक शुल्क षष्ठीको अस्ताउँदो सूर्य र सप्तमीको उदाउँदो सूर्यको पूजा अर्चना शुद्ध मनले चोखो नितो गरेर गर्ने र चैत्र शुल्क षष्ठीमा पनि अस्ताउँदो सूर्यलाई र सप्तमीमा विहान उदाउँदो सूर्यलाई आफ्नो चिताएको मनोकामना पूरा होस् भनेर पूजाअर्चना गर्नु भनेकाले पाँच पाण्डवहरुले सोही मुताविक पूजाआजा गरेकाले रोग व्याधबाट मुक्त भएको भन्ने किम्बदन्ती गाउँ घरमा सुन्न पाइन्छ ।
गाईघाटको त्रियुगा नदी, कटारीको तावा नदी, बेल्टारको द्धार खोला, रामपुरमा गिदेरी खोला, सेती खोलालगायतका खोलाहरुमा भेला भएर छठी माताको पूजा एवम् अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ मनाइएको हो ।
उदयपुरमा छठ घाटमा रातभरी जाग्राम बसेर रमाइलो गरी नाचगान तथा अन्य रमाइला कार्यक्रम गरेर रात कटाइएको थियो भने बिहान स्नानसहित सूर्य भगवानलाई अर्घ चढाउँदै पूजाआजा गरेर प्रसाद वितरण गरी व्रत समाप्त गरिएको छ ।








प्रतिक्रिया