
काठमाडौं, २१ कात्तिक । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा युट्युबमा सक्रिय भ्लगर रतन कार्कीविरुद्ध अनुसन्धान थालेको छ ।
दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिपको फाइनल खेल चलिरहेका बेला कार्कीले युट्युब भिडियोमार्फत प्रधानमन्त्रीलाई मार्ने आशयको भड्कावपूर्ण अभिव्यक्ति दिएका थिए ।
‘बाहिर यत्रो मान्छे छम्, सबै जना मिलेर एउटा ग्रुप बनाएर घेरेर फ्याट्टै मार्यो भने मारेको मार्यै हुन्छ साथीहरू,’ कार्कीले भिडियोमा भनेका थिए, ‘आँटम् त आज, आज आटिहालम् । अब धेरै टाइम पनि छैन । बुढो गइहाल्छ । मतलब उता जान पनि टाइम छैन, उता जान पनि । बुझ्नु न । आज गरिहालम् ।’
कार्कीले रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति हिंसात्मक अभिव्यक्ति दिएका थिए ।
हाल जापानमा विद्यार्थी भिसामा रहेका कार्कीले समाजमा अशान्ति फैलाउने र अराजकता सिर्जना गर्ने उद्देश्यले यस्तो अभिव्यक्ति दिएको ब्यूरोको ठहर छ ।
साइबर ब्यूरोले त्यस घटनाको गम्भीरतालाई मध्यनजर गर्दै विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ ।
रतन कार्कीले राष्ट्रपतिविरुद्ध पनि दिएका थिए आपत्तिजनक अभिव्यक्ति
चितवनका कार्कीले ७ महिनाअघि जापान उड्नु अघि पनि राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध पनि उच्छृंखल अभिव्यक्ति दिएका थिए ।
कार्की जापान उड्नुअघि चितवनबाट काठमाडौं आइपुग्दा उनले मोटरसाइकलमा भिडियो बनाएका थिए । उनले सडकमा रहेका सुरक्षाकर्मीहरु प्रति इंकित गर्दै आक्रामक अभिव्यक्ति दिएका थिए ।
उनले भनेका थिए, ‘यतातिर टाइट सेक्यूरिटी छ है किनकी यो बाटो पनि हिँड्ने होला नि ! त्यो चोर, मासाला, खाते । खोइ कहाँ गयो त्यो राष्ट्रपति ? राष्ट्रपतिलाई त भेट्टायो भने मैले मार्छु होला मासालालाई । चोर, साला, भाते ।’ उनका पुराना भिडियोहरुमा पनि उच्छृंखल अभिव्यक्ति आउने गरेको थियो ।







प्रतिक्रिया