
काठमाडौं, २१ कात्तिक । नेपाल महर्षि वैदिक फाउण्डेसनको आयोजनामा आजदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने अतिरुद्र विश्वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपालमै पहिलोपटक १ हजार १ सय ११ जना आचार्य तथा वैदिक पण्डितबाट हुने महायज्ञमा दैनिक १० हजार जना सहभागि हुने विश्वास आयोजकले लिएको छ । महायज्ञको औपचारिक उद्घाटन वैदिक गुरुहरुद्वारा आज बिहान साढे १० बजे शोभायात्रा लगत्तै हुनेछ ।
भद्रकाली मन्दिरबाट मौलिक नेपाली झाँकी तथा १ सय ८ शंखघण्टसहित सुरु हुने शोभायात्रा शहीदगेट, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर उद्घाटन समारोहमा सरिक हुनेछ ।
महायज्ञ आयोजक समितिकी सदस्य एवं प्रचार विभाग प्रमुख समिक्षा बाँस्कोटाले नेपालीहरु आफैले कर्ता बनेर नेपालको शान्ति र समृद्धिको कामना गर्दै सम्पन्न हुने महायज्ञका दौरान भावातीत ध्यान तथा सिद्धि कार्यक्रम, प्रंगारिक कृषि मेला, वैदिक तथा आधुनिक विज्ञान महासम्मेलन, भागवत कथा वाचन लगायतका कार्यक्रमहरुपनि आयोजना गरिने बताइन् ।
महायज्ञलाई सफल बनाउन ७७ वटै जिल्लाबाट वैदिक गुरु तथा बटुकहरु काठमाडौं आइपुगेको जानकारीसमेत उनले दिइन् ।
‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञको अन्तिम तयारी पूरा गरेका छौँ । कात्तिक २१ गतेदेखि २५ गतेसम्म सम्पूर्ण नेपालीहरुलाई भृकुटीमण्डपमा महायज्ञ, ध्यान शिविर, वैदिक महासम्मेलन र भागवत सार वाचन लगायतका कार्यक्रममा सहभागि हुन आह्वान गर्दछौँ’, बाँस्कोटाले भनिन् ।
सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवका अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेसनले आयोजना गरेको विराट महायज्ञमा ईच्छुक जोकोही सहभागि हुनसक्ने आयोजकले जनाएको छ ।
महायज्ञका लागि भृकुटीमण्डप परिसरमा हवनस्थल, वाचन स्थल, योगास्थल, सचिवालय, ५० वटा प्रांगारिक कृषि स्टल, सचिवालय, विश्रामस्थल, मिडिया सेन्टर, भोजनस्थललगायतको प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।








प्रतिक्रिया