
मोरङ, १५ कात्तिक । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा संकट आइलागेको अवस्थामा निकास दिन एमाले र नेपाली कांग्रेस मिलेर सत्ता सहकार्य गर्नु परेको बताएका छन् । एमाले मोरङले विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले मुलुकले संकट झेल्नु परेकाले थप संकटमा फस्न नदिन एमाले-कांग्रेस एक ठाउँमा उभिएको स्पष्ट पारे ।
नेता पाखरेलले रास्वपा सभापति रवि लामिछाने पक्राउप्रति संकेत गर्दै सहकारी ठगी प्रकरणमा संलग्न जोसुकै भएपनि कारबाही हुनुपर्ने बताए । उनले सहकारी ठगीमा आफ्नै पार्टी भित्रकै कोही भए पनि कारबाही हुने स्पष्ट पारे । ‘कोही पनि दोषी छ भने एमाले दृढतापूर्वक भन्न चाहन्छ, दोषी हाम्रै पार्टी भित्रको कोही छ भने पनि उ दण्डको भागीदार हुन्छ र हुनुपर्दछ, एमाले यसमा दृढ छ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेले भने, ‘यदी निर्दोष छ भने निर्दोषहरुलाई डाम्ने कोशिस गरिन्छ भने एमालेलाई मन्जुर छैन । हिजो एमालेलाई फत्तुर लाउनेहरु प्रधानमन्त्री केपी ओलीलाई पशुपतिको जलहरीमा सुन होइन, पित्तल लगाएको भन्नेहरु थिए । यस्ता फत्तुर लाउनेहरु छन्, अनेक खालका कुराहरु गर्ने छन् । तर हामी तिनिहरुको सामुन्ने ठिंग उभिएर जवाफ दिन तयार छौँ । हामीले गल्ती गर्दैनौँ, गल्ती गर्नेहरुलाई दण्डको भागीदार बनाउछौँ । यो एमालेको अठोट हो र संकल्प हो ।’ उनले सहकारी छानबिन समिति बनाउँदा व्यक्ति तोकेर बनाउन नहुने एमालेले अडान लिए पनि रास्वपा सभापति रवि लामिछानेकै सहमतीमा बनेको बताउँदै समितिले छानबिन गरी कार्यान्वय गर्न सरकारलाई सिफारिस गरेकाले सोही अनुसार भएको बताए ।
वरिष्ठ उपाध्यक्ष पाखरेलले रास्वपा सांसदसमेतको हस्ताक्षर रहेको छानबिन समितिको प्रतिवेदनले व्यक्ति तोकेर सहकारी ठगीमा संलग्नलाई कारबाही गर्नुपर्ने देखाएकाले सोही अनुसार कार्यान्वयन गर्दा अनावश्यक हल्लाखल्ला गरिएको दाबी गरे । ‘यो प्रक्रिया अगाडि बढिरहँदा यसको बारेमा किन हल्लीखल्ली ? लोकतन्त्रमा विश्वास गर्ने, सार्वजनिक जीवनमा बाँचिरहेको कोही पनि व्यक्तिमाथि प्रश्न उठ्छ भने उ छानबिनको दायरामा आउनुपर्दछ ।’ उनले भने, ‘अभियोजन हो भने त्यसलाई स्वीकार गर्नुपर्दछ । यदी निर्दोष हो भने पुष्टि हुनेछ । दोषी हो भने दण्डको भागीदार हुनुपर्दछ । हिजो मन्त्री भएको, प्रधानमन्त्री भएको नाताले कहीँ कतै त्यसलाई रोकिनुहुन्न ।’
कार्यक्रममा एमाले उपाध्यक्ष गुरु बरालले मुलुकको विकास र राष्ट्रियताको सच्चा पहरेदार एमाले भएकाले देशी विदेशी तत्वहरुबाट पार्टीलाई चौतर्फी प्रहार हुन थालेपनि डटेर सामान गरिने बताए । उनले मुलकको विकास र समृद्धि एमालेबाट मात्र सम्भव भएकाले आगामी २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीको एकल बहुमतको सरकार बन्नेगरी जिताउन लाग्नुपर्नेसमेत बताए ।
कार्यक्रममा स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले राष्ट्रिय पर्वहरुले राष्ट्रिय एकतालाई सुदृढ र बलियो बनाउने बताउँदै एमाले मोरङले प्रत्येक वर्ष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको बताए ।
कार्यक्रममा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले पार्टीले प्रत्येक वर्ष दशैं, तिहार, छठ, नेपाल सम्वत, इद, ल्होसारलगायत सम्पूर्ण राष्ट्रिय पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै आएको बताउँदै यसलाई निरन्तरता दिइरहने बताए । अध्यक्ष कार्कीले कार्यक्रममा सबै राजनीतिक दल, शैक्षिक क्षेत्र, स्वास्थ्यक्षेत्र, उद्योग व्यवसाय, राज्य, प्रशासन, यातायात मजदुर, सामाजिक संघ संस्थाहरू, सहकारीहरू, न्याय क्षेत्र, सञ्चार क्षेत्र, कर्मचारी, निर्माण क्षेत्र, स्थानीय तह, संघ तथा प्रदेश सरकार, सांसदहरू, होटल पर्यटन, सौन्दर्यकर्मी, ट्रेड यूनियन, धार्मिक संघसंस्थालगायतका सबै पक्षलाई आमन्त्रण गरिएको जानकारी दिए । उनले कार्यक्रमलाई भव्यरुपमा सफल बनाउन साथ सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिए ।
कार्यक्रममा प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना, केन्द्रीय सदस्य नैनकला ओझा, रामलाल साह, युवाराज बास्कोटा, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतलगायत पार्टीका प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटी सदस्यहरुलगायतको उपस्थिति रहेको एमाले मोरङका सचिव रविन थापाले जानकारी दिए ।









प्रतिक्रिया