९ असार २०८३, मंगलबार

तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सङ्खुवासभा, १४ कात्तिक । सङ्खुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकालाई मुआब्जा दिनका लागि प्रक्रिया अघि बढाएको हो । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले पाँच लाखदेखि ३४ लाख रुपैयाँसम्म जग्गाको मूल्याङ्कन गरी वितरण सुरु गरिएको जानकारी दिए ।

तल्लो अरुण जलविद्युत् आयोजना बन्ने क्रममा तीन सय ३८ घरधुरी प्रत्यक्ष प्रभावित हुनेछन् । जसमा १६ घर पूर्णरुपमा विस्थापित हुनेछन् । आयोजना निर्माणका लागि करिब ६५ दशमलव ९६ हेक्टर निजी जमिन अधिग्रहण गरिनेछ । प्रभावित स्थानीयलाई करिब एक अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्ने सतलज कम्पनीले जनाएको छ ।

मकालु गाउँपालिकामा निर्माण भइरहेको नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्को उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङमार्गबाट पानी ल्याएर तल्लो अरुण निर्माण गर्न लागिएको एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीका उपमहाप्रबन्धक आरसी सुलेरियाले बताए ।

सतलजले अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । अरुण तेस्रोको निर्माण ढाँचा मै तल्लो अरुण निर्माण गर्न सतलज तयार भएको हो ।