
काठमाडौं, १४ कात्तिक । काग तिहारको अवसरमा आज बुधबार ‘२१औँ काग सम्मेलन’ गरिएको छ ।
एक सयभन्दा बढी जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलालले बुधबार २१औँ काग सम्मेलन गरेका हुन् ।

राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा राजधानीको नारायणहिटी अगाडि भएको सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराएका थिए ।
उनले कागको आवाज निकालेर कागलाई बोलाउन थालेपछि नजिक सयौँ काग आएका हुन् । विगतका वर्षहरुमा रत्नपार्कस्थित शान्ति बाटिकामा गरिँदै आएको काग सम्मेलन यस वर्ष भने नारायणहिटी गेट अगाडि गरिएको हो ।

उनले आज बिहान पौने ६ बजे आयोजित सम्मेलनमा १ हजारको हाराहारीमा कागलाई भेला गराइएकोसमेत बताए ।
दुलालले आफूले कागसहित १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने सक्ने बताए । दुलालले कागबाहेक मुखैले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए ।

उनले भने, ‘काग तिहारको दिन मैले काग सम्मेलन गरेको अहिले २१ वर्ष भयो । यमलोकको खबर यमराजलाई पठाउने दूतका रुपमा कागको पूजा गरिँदै आएको छ । पहिले मैले कार्यक्रम गरेर पत्रकार सम्मेलन गर्ने गर्दथे । कहिले भारतले नाकाबन्दी गर्दा सम्मेलन गरे । कहिले संविधान नबनेको भन्दै काग सम्मेलन गरे । कहिले एयरपोर्टमा काग सम्मेलन गरेर जाम गराइदिए । तर अहिले तिहारको समयमा काग तिहारका उपलक्ष्यमा काग सम्मेलन गरेको हो ।’









प्रतिक्रिया