
काठमाडौं, १३ कात्तिक । नेकपा (एमाले) उदयपुर-काठमाडौं सम्पर्क मञ्चले तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा सामूहिक देउसी भैलो कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
गत वर्षझैँ यस वर्ष पनि कात्तिक १६ गते शुक्रबार दिउँसो १ बजे काठमाडौंको बिजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा कार्यक्रम हुने मञ्चका अध्यक्ष रीताकुमारी थापाले जानकारी दिइन् । नेपालीहरूको दोस्रो ठूलो चाडको अवसरमा नेपाली संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।
जन्मथलो उदयपुर छाडेर कर्मथलो काठमाडौं उपत्यकामा अस्थायी तथा स्थायी बसोबास गर्ने नेता, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, शिक्षक, पत्रकार, वकिल, कर्मचारी, विद्यार्थी, कलाकार, बुवाआमा, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र एवं एमालेका शुभेच्छुक, शुभचिन्तक र समर्थकहरूलाई कार्यक्रममा सहभागी हुन अध्यक्ष थापाले अनुरोध गरेकी छन् ।
एमाले कोशी प्रदेश सम्पर्क समितिका सदस्य तथा मञ्चका इन्चार्ज सरोज थापाले धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्पराको संरक्षण एवं सम्वर्द्धन गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । ‘नेपालीहरूको दशैँपछिको ठूलो चाड तिहार हो । यसको जगेर्ना गर्नु नै देउसी भैलो कार्यक्रमको मुख्य उद्देश्य हो ।’ उनले भने ।
यसैबीच, मञ्चमा आबद्ध नगरपालिका तथा गाउँपालिकाका सम्पर्क मञ्चका सदस्यहरू, सल्लाहकारहरू र नेताहरूलाई पनि निमन्त्रणा गरिसकिएको र कार्यक्रमलाई भव्य एवं सभ्य रूपमा सम्पन्न गर्न इन्चार्ज थापाले अनुरोध गरेका छन् ।








प्रतिक्रिया