३२ असार २०८३, बिहिबार

‘बाह्रकुने दह’लाई पर्यटन सर्किटसँग जोड्दै लुम्बिनी सरकार

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १३ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य दाङको प्रसिद्ध धार्मिक तिर्थस्थल ‘बाह्रकुने दह’ पुगेका छन् । लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत निर्माण भइरहेको पर्यटकीय पूर्वाधारको अवलोकनका लागि मुख्यमन्त्री आचार्य मंगलबार बाह्रकुने दह पुगेका हुन् ।

स्थानीय बासिन्दा, बाह्रकुने दह व्यवस्थापन समितिका पदाधिकारीहरुसँगसमेत मुख्यमन्त्री आचार्यले छलफल गरेका छन् ।

घोराही उपमहानगरपालिका-१३ मा बाह्रकुने दह रहेको छ । यो दहमा १२ वटा कुनाहरु भएको हुनाले यसको नाम ‘बाह्रकुने दह’ रहन गएको स्थानीयको बुझाई छ ।

सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय छ । लुम्बिनी प्रदेशको एउटा नमूना दहको रुपमा रहेको छ । यो धार्मिक एवम् पवित्र स्थल पनि हो । यहाँ माघेसंक्रान्तिको दिन ठूलो मेला लाग्ने गर्दछ ।

मुख्यमन्त्री आचार्यसहित बाह्रकुने दह क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको अवलोकनको लागि उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री प्रचण्डविक्रम न्यौपाने, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा, पूर्व स्वास्थ्यमन्त्री राजु खनाललगायतको सहभागिता रहेको छ ।

लुम्बिनी प्रदेशलाई पर्यटन सर्किट निर्माण गरेर एक आपसमा जोड्ने संकल्प प्रदेश सरकारले लिएको छ । त्यही संकल्पअन्तर्गत पर्यटन पूर्वाधारहरुको निर्माण गरिन थालिएको छ ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पुर्‍याउने र धेरै दिनको भ्रमण गराउने गरी पर्यटन सर्किटको अवधारणा अघि सारिएको हो । प्रदेश सरकारले यस वर्ष घुमौँ बर्दियाको अभियान पनि चलाएको छ ।