
अर्घाखाँची, १३ कात्तिक । अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको संख्या ३५ जना पुगेको छ ।
सन्धिखर्क नगरपालिका-१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाएका थिए । प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको संख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए ।
आज बिहान थप सात जना उपचारका लागि अर्घाखाँची अस्पतालमा पुगेका छन् ।
अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको बताएका छन् ।
उनीहरू सबैको अवस्था सामान्य छ । आइतबार रातिदेखि बिरामी परेका उनीहरू सोमबार दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए । ‘फुड प्वाइजन’का कारण बिरामी परेको डा. तिवारीको जानकारी दिए ।
बिरामीमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ भने एक जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले बताए ।
दुई जना उपचारपछि निको भएर घरमा फर्किएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।









प्रतिक्रिया