
काठमाडौं, १२ कात्तिक । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरु संशोधनको गृहकार्य भइरहेको बताएका छन् । गैरआवासीय नेपाली संघको आइतबारबाट सुरु वार्षिक साधारणसभाको दोस्रो दिन सोमबार राजधानीमा आयोजित ग्लोबल कन्केल्भ २०२४ लाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा लागानीका लागि सरकारले सबै वातावरण बनाउने प्रतिबद्धता पनि जनाएका छन् । उनले भने, ‘पर्यटन क्षेत्रमा लगानीको वातावरण हामीले बनाइदिन्छौँ । संस्कृति र नागरिक उड्डयनको क्षेत्रमा सुधार गर्छौँ । तपाईंहरुले सहयोग गर्नुहोस् । लगानीमैत्री वातावरणको भाष्य बनाउन जरुरी छ । देशभित्र र बाहिरका लगानीकर्तालाई वातावरण दिन जरुरी छ ।’

नेपाल विविधतापूर्ण संस्कृति र प्रकृति सम्पदाले भरिपूर्ण रहेको र नागरिक उड्डयनका क्षेत्रमासमेत अनन्त सम्भावना रहेको मन्त्री पाण्डेले बताए । उनले भने, ‘आकाश सुरक्षित छ, सूचारु छ भन्ने देखाउँनुछ । इयुले असुरक्षित भनेको छ । सुरक्षित, गतिशील, सूचारु आकाश देखाउन सक्यौँ भने देशभित्र र बाहिरका पर्यटक आउन सक्छन् । विश्वका विभिन्न कुनमा रहेको नेपालीहरुको पछिल्लो पुस्तालाई जोड्ने भाषा र संस्कृतिले नै हो । आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई अधिकतम उपयोग गर्न सकियो भने नेपालसँग जोडिनुहुन्छ ।’ पर्यटनको क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता सरकारले बोध गरेको पनि उनको भनाई छ ।
उनले भने, ‘संस्कृति र प्रकृतिको प्रर्वद्धन र आकाश सूचारु गर्ने सम्बन्धमा पनि काम गरिरहेका छौँ । सात वटा प्रदेशमा सात वटा ट्वीनेटर विमान सञ्चालन गर्ने भनेर सोचिरहेका छौँ ।’
यस अवसरमा नेपालका भाषा, संस्कृतिलाई विदेशमा प्रर्वद्धन गर्दै आएकी म्यानमार निवासी ८१ वर्षकी भारती लिम्बुनीलाई मन्त्री पाण्डेले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।









प्रतिक्रिया