
काठमाडौं, ११ कात्तिक । स्पेनिस ला लिगाको एल क्लासिकोमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । आइतबार बिहान सकिएको खेलमा बार्सिलोनाले चिरपरिचत प्रतिद्वन्द्वी रियल मड्रिडमाथि ४–० एकतर्फी जित दर्ता गरेको हो ।
लामो समयदेखि लिगमा अपराजित रहेको रियल मड्रिडले अन्ततः आफ्नो पहिलो ला लिगाको हार एल क्लासिकोमा भोग्न बाध्य भयो ।
बार्सिलोनाले रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा ४–० को शानदार जित हात पार्दा रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा लामिन यामाल र राफिन्हाले एक एक गोल गरेका थिए ।
पहिलो पटक एल क्लासिको खेलका केलियन एम्बाप्पेले गरेका २ गोल भारमार्फत रद्द भएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै ४ गोल बार्सिलोनाले दोस्रो हाफमा गरेको थियो ।
३१औं मिनेटमा एमबाप्पेले गरेको गोल अफसाइड भएको थियो । ‘यदि एम्बाप्पेको गोलले खाता खोलेको भए, खेलको दिशा परिवर्तन हुन सक्थ्यो । दोस्रो हाफमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने लामिन यामाल र राफिन्हाले एक एक गोल गर्दै जित दिलाए ।
५४औं मिनेटमा बार्सिलोनाका लागि लेवान्डोस्कीले गोलको खाता खोल्दै अग्रता दिलाए । लगत्तै ५६औं मिनेटमा लेवान्डोस्कीले हेडरमार्फत व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै अग्रता पनि दोब्बर पारे ।
६६औं मिनेटमा पनि एम्बाप्पेले गरेको गोल अफसाइड हुँदा रियल मड्रिड निराश भएको थियो ।
७७औं मिनेटमा लामिन यामालले गोल गरेपछि पाहुना टोली बार्सिलोना फराकिलो जिततर्फ अग्रसर भएको थियो । ८४औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज र शानदार जित दर्ता गराए ।
जित पछि बार्सिलोनाले ११ खेलबाट ३० अंक बनाएर आफूलाई शीर्ष स्थानमा यथावत राखेको छ । साथै, बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडलाई ६ अंकले पछि छोडेको छ ।








प्रतिक्रिया