
काठमाडौं, १० कात्तिक । भारतले पुणे टेस्टमा न्युजिल्यान्डसँग ११३ रनको फराकिलो अन्तरले पराजय व्यहोरेको छ । यो पराजयसँगै भारतले १२ वर्षमा पहिलो पटक घरेलु सिरिज गुमाएको छ ।
तीन खेलको सिरिजमा न्युजिल्यान्ड अहिले २-० ले अघि छ । न्युजिल्यान्डले पहिलो पारिमा २५९ रन बनाएको थियो । जवाफमा भारतको पहिलो पारि १५६ रनमा समेटिन पुग्यो ।
१०३ रनले अघि रहेको न्युजिल्याण्डले दोस्रो पारिमा ३५५ रन बनाएपछि भारतले ३५९ रनको लक्ष्य पाएको थियो । जसलाई भेट्टाउन कठिन रहेको पिचमा भारतले अन्ततः पराजयको सामना पुग्यो ।
भारतले लक्ष्य पछ्याउने क्रममा ओपनर यसश्वी जयसवालले सर्वाधिक ७७ रन बनाउँदा अन्तिमतिर रविन्द्र जडेजाले ४२ रनको पारि खेले । तेस्रो धेरै रनको रुपमा शुभमन गीलले २३ रन बनाएका थिए ।
भारतका विराट कोहली, रोहित शर्मा जस्ता स्टार खेलाडीहरु चल्न सकेनन् । मिचेल सान्टनरले पहिलो इनिङमा ५३ रन खर्चिएर ७ विकेट लिएका थिए भने दोस्रो इनिङमा १०४ रन दिएर ६ विकेट लिए ।
रोहित शर्माले पोस्ट-म्याच प्रेजेन्टेसनमा भने, ‘हामीले पर्याप्त रन बनाउन सकेनौँ । टेस्ट म्याच जित्न चाहन्छौँ भने २० विकेट लिनुपर्छ, तर ब्याटरहरूले पनि बोर्डमा रन राख्नुपर्छ । हामीले पहिलो इनिङमा पर्याप्त रन बनाएनौँ र त्यसले खेलमा पछि पर्यौँ ।’
भारतले अब तेस्रो टेस्टमा मुम्बईमा खेल्दै सिरिजलाई २-१ बनाउनुपर्ने दबाबमा छ । साथै, आगामी वर्षको वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गर्न भारतले आवश्यक अंक बटुल्नुपर्नेछ ।
रोहितले भने, ‘हामी वानखेडेमा राम्रो प्रदर्शन गर्दै त्यो टेस्ट म्याच जित्ने प्रयास गर्नेछौँ । यो सामूहिक असफलता हो, जसलाई सुधार्ने प्रयास गर्नेछौँ ।’









प्रतिक्रिया