३१ जेष्ठ २०८३, आइतबार

वीपी स्मृति कपः भारतको लाइफ केयर र नेक्सस रूपन्देही फाइनलमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रकाश न्यौपाने, भैरहवा, ९ कात्तिक । ‘वीपी कोइराला स्मृति कप टी-२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब र नेक्सस रुपन्देही-११ नेपाल फाइनल प्रवेश गरेका छन् ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा दीपक पुनियाको शतक, दिपान्सु फोरको अर्धशतक र क्षितिजको उत्कृष्ट बलिङको मद्दतमा पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई १ सय ५५ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतको लाइफ केयरले फाइनल यात्रा पक्का गरेको हो ।

यस्तै, दोस्रो सेमिफाइनलमा नेक्सस रुपन्देही-११ ले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमीमाथि ८ विकेटको जित निकाल्दै फाइनल पुगेको हो । अब लाइफ केयर र नेक्ससबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

भैरहवास्थि सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लाइफ केयरले ५ विकेटको नोक्सानीमा २ सय ४७ रनको विशाल योगफल बनायो । उसका लागि दीपनक पुनियाले ५८ बलमा ९ चौका र ६ छक्काको मद्दतमा १ सय १ रनको शतकीय पारी खेले ।

यस्तै, दिपान्सु फोरले ६५, विपुलले अविजित २९, एकान्स डोबलले १९ र जस्मित नैनले १३ रनको योगदान गरे । बलिङमा पाकिस्तानको जावेद गोहारका मोहम्मद इश्तियाक अहम्मदले ४ र ऋषभ जोशीले १ विकेट हात पारे ।

२ सय ४८ रनको विशाल लक्ष्यसहित ब्याटिङ गरेको जावेद गोहारले १५ ओभर ४ बलमा ९ विकेटको नोक्सानीमा ९२ रन मात्रै बनाउन सक्यो । अन्तिम विकेट हातमा रहँदा पनि उसले खेल टुंग्यायो । उसका लागि अली हुसेनले ४२, ऋषभ जोशीले २३ र मोहम्मद इश्तियाक अहम्मदले १५ रन बनाए पनि अन्या ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम फाइनल पुग्नबाट चुक्यो ।

बलिङमा भारतको लाइफ केयरका क्षितिजले ४ ओभरमा १ मेर्डनसहित १३ रन खर्चेर ५ विकेट लिए ।

यस्तै, योगेश कुमारले ३ तथा राजेश शर्माले १ विकेट लिन सफल भए । खेलमा दीपक पुनिया म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।

सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साइक्यूले १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८८ रनको झिनो स्कोर बनायो । साइक्यूका ब्याटर सेमिफाइनलमा चल्न सकेनन् । उसका लागि एकसले २७, शौरबले १३, सिफत सदीकले १२, मुनिमले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम पराजित हुन पुग्यो ।

बलिङमा उसलाई सस्तैमा रोक्न नेक्सस रुपन्देहीका बसिर अहम्मदले ३, शाहब आलम र दिपेश कँडेलले २-२ तथा दुर्गेश गुप्ता र दिनेश अधिकारीले समान १-१ विकेट हात पारे ।

८९ रनको झिनो लक्ष्यसहित मैदानमा उत्रिएको नेक्सस रुपन्देहीले ११ ओभरमा ५ बलमा लक्ष्य पूरा गर्दै सहजै जित निकाल्यो । उसको जितमा शंकर रानाले ४०, विपिन विक्रम शाहीले १५ र मिर्नाल गुरुङले ११ रनको योगदान दिए ।

बलिङमा साइक्यूका शाहदत रहमान र एकसले १-१ विकेट लिए । खेलमा वसिर अहम्मद म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै, म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जनाए ।