
काठमाडौं, ८ कात्तिक । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै समूह ‘ए’बाट विजेताको हैसियतमा सेमिफाइनलमा स्थान पक्का गरेको हो । यो समूहबाट भारत उप विजेताको हैसियतमा सेमिफाइनलमा पुग्दा पाकिस्तान भने बाहिरिएको छ ।
बंगलादेशको चार अंक भएको छ भने भारतको तीन अंक रहेको छ । पाकिस्तान भने एक अंकसहित प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
बंगलादेश र भारतबीचको बुधबारको खेलमा सबै गोल पहिलो हाफमा निस्किएका थिए । बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गर्दा अफिला खान्दाकरले एक गोल गरिन् । भारतकी बाला देवीले गरेको गोल सान्त्वनामा परिणत भयो ।
बंगलादेशले १८औं मिनेटमा अग्रता लिएको थियो । जब कप्तान सविना खातुनको कर्नरमा भारतीय गोलरक्षकको कमजोरीको फाइदा उठाउँदै अफिदा खान्दाकरले गोल गर्दै अग्रता दिलाइन् । २९औं मिनेटमा बंगलादेशका लागि ऋतु पूर्णा चक्माले गरेको क्रसमा तोहुरा खातुनले गोल गर्दै अग्रता दोब्बर पारिन् ।
४३औं मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश ३–० ले अघि बढेको थियो । ४४औं मिनेटमा भारतकी बाला देवीले गोल गर्दै अन्तर कम गरिन् । तर, दोस्रो हाफमा थप गोल नभएपछि अन्ततः बंगलादेश ३–१ को जितका साथ समूह विजेता बन्न सफल भयो ।
यसैबीच, नेपाल रहेको समूह ‘बी’को खेल आज हुनेछ । नेपालले श्रीलंकासँग खेल्दा भुटान र माल्दिभ्स आमनेसामने हुने छन् ।









प्रतिक्रिया