
काठमाडौं, ८ कात्तिक । युइएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले बार्यन म्युनिखविरुद्ध शानदार जित दर्ता गरेको छ ।
बिहीबार बिहान सकिएको खेलमा बार्सिलोनाले बार्यनमाथि ४-१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा राफिन्हाले आफ्नो १००औं खेलमा ह्याट्रिक गर्दा रोबर्ट लेवान्डोस्कीले अर्को गोल थपेका थिए ।
चार वर्षअघि लिस्बनमा ८-२ को हारपछि बार्सिलोना बार्यनसँग लगातार ६ पटक पराजित भएको थियो । जहाँ बायर्नले बार्सिलोनाविरुद्ध २२-४ को गोल अन्तर बनाएको थियो । तर, यसपटक बार्सिलोनाले पुरानो इतिहासलाई तोड्दै बायर्नमाथि जित निकालेको हो ।
खेलको सुरुवातमा ४५ सेकेन्डमा नै राफिन्हाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । यद्यपि, ह्यारी केनले बायर्नका लागि ६औं मिनेटमा गोल गरे पनि भारले अफसाइड ठहर्यायो । त्यसपछि १८औं मिनेटमा केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३६औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले अग्रता २–१ बनायो । राफिन्हाले ४५औं मिनेटमा टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे ।
५६औं मिनेटमा राफिन्हाले गोल गर्दै ह्याट्रिक पूरा गर्दा बार्सिलोना ४–१ ले अघि बढ्यो । सोही अग्रता जोगाउँदै बार्सिलोनाले शानदार जीत दर्ता गर्न सफल भयो ।








प्रतिक्रिया