१० श्रावण २०८३, आइतबार

सांसद भट्टचनको पहलमा दामोदरकुण्ड र गुरुसाङ्वो गुफा जोड्ने झोलुङ्गे पुलको डीपीआर सर्वे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुस्ताङ, ७ कार्तिक । प्रतिनिधिसभा सांसद देवीप्रकाश भट्टचन, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट लगायतको पहलमा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको दामोदरकुण्ड पदमार्ग र थासाङको गुरुसाङ्वो गुफा जाने पदमार्गको २ वटा झोलुङ्गे पुलको डीपीआर सर्वे गरिएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभाग संस्पेन्सन ब्रिज डिभिजनका प्राविधिक इन्जिनियर लगायतको टोलीले दुईवटा झोलुङ्गे पुलको डीपीआर सर्वे गरिएको हो। पुल डीपीआर सर्वेका लागि काठमाडौंँबाट प्रभुको हेलीकप्टर मार्फत प्रतिनिधि सभा सदस्य भट्टचनसहित डिभिजनका ईन्जिनीयर प्रवेश रेग्मी र ईन्जिनीयर गोपाल बहादुर थापा मुस्ताङ आएका थिए ।

दामोदर कुण्ड तीर्थ यात्राका लागि त्यस पदमार्गको भर्सा खोलामा झोलुङ्गे पुल स्थापना भएमा करिव ४ घण्टाको पैदल यात्रामा दुरी छोट्टिन जनाईएको छ । दामोदरकुण्डको भर्सा खोला समुन्द्री सतहदेखि करिव ५ हजार १०७ मिटरको अग्लो उचाईमा रहेको र त्यहाँ पुल निर्माणका लागि प्रारम्भिक गृहकार्य भईरहेकाले डीपीआर सर्वे अघि बढाईएको सस्पेन्स ब्रिज डिभिजनका ईन्जिनीयर प्रवेश रेग्मीले जानकारी दिए ।

‘यो सर्वे र डीपीआर दुबै हो, डीपीआर फाईनल भएपछि योजना छनौटका लागि अघि बढ्छ, डिभिजन ई. रेग्मीले भने, आगामी आर्थिक वर्ष पुलको योजना रातो कितावमा समावेश हुने र त्यसपछि अर्थ मन्त्रालयले श्रोत सुनिश्चित गरेपछि पुल निर्माणको ठेक्का अघि बढ्ने छ ।’

दामोदरकुण्ड पदमार्गको भर्सा खोलामा करिव ४६० मिटर लामो पुलको आवश्यकता पर्ने ईन्जिनीयर रेग्मीले बताए । उनले समुन्द्री सतहको उच्च उचाईको क्षेत्रमा पुल निर्माणका लागि डिपिआर सर्वे भएको जनाए । ‘डिपिआर सर्वे भयो, यसको डिपिआर बन्न ३ महिना लाग्छ, उनले भने, त्यसपछि योजना अघि बढाउन सहज हुन्छ, हामीले यस योजनालाई निकै महत्वका साथ लिएका छौं ।

भगवान बिष्णुको वासस्थानको रुपमा रहेको प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्ड जोमसोम—कोरला राजमार्ग हुँदै चराङ पुगेर तल झर्नुपर्छ । यारा हुँदै पैदलमार्ग हुँदै दामोदरकुण्ड पुग्न करिब ९ घण्टाको समय लाग्छ । भर्सा खोलामा पुल नहुदा दामोदकुण्ड जाने धार्मिक पदयात्री उकालो र आरोलो झर्नु पर्ने हुदा पैदलयात्राको दुरी लम्बिएको हो । पुल बनेपछि ९ घण्टाको पदयात्रा ५ घण्टामा पुरा गर्न सकिने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गरे । उनले दामोदकुण्ड जाने भर्सा खोलामा झोलुङ्गे पुलको आवश्यकता रहेको सुनाए ।

यसैगरी, मुस्ताङको थासाङ गाउँपालिका—२ नाउरिकोट—गुरुसाङ्वो जोड्ने अर्को एक झोलुङ्गे पुलको पनि डिपिआर सर्वे भएको प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचनले जानकारी दिए । उनका अनुसार गुरु पद्यसम्भव ध्यान गरेर बसेको धार्मिक गुफा जाने पदयात्रीको सहजताका लागि त्यहाँ पुल निर्माणको प्रक्रिया अघि बढेको हो ।