
रामेछाप, ५ कार्तिक । नेकपा (एमाले) वाग्मती प्रदेश अध्यक्ष एवं वाग्मती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले परोपकार गर्नु सबैभन्दा उत्तम काम भएको बताएका छन् ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्ती स्थित तामाकोशी जनजागृति माविमा जग्गा खरिद र छात्रावास निर्माणको लागि कोष स्थापना गर्न लगाइएको श्रीमद् भागवत ज्ञान महायज्ञमा सोमबार बोल्दै ढुङ्गेलले सबै धर्मको सार नै परोपकार भएको बताए । ‘परोपकार गर्नु नै अहिलेको सबैभन्दा राम्रो पुण्य काम हो’, उनले भने ।
विद्यालयमा परोपकारी काम गर्नको लागि महायज्ञ लगाइएको भन्दैले उहाँले विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरे। पानी नभएको ठाउँमा पानी पुर्याउनु, स्वास्थ्य सेवा नभएको ठाउँमा स्वास्थ्य सेवा पुर्याउनु, विद्यालयमा राम्रो व्यवस्था छैन भने राम्रो बनाइदिनु, घाउ छन् भने मलम लगाइदिनु, गरिब दुःखीको उद्धारमा समर्पित हुनु नै श्रीमद् भागवतको सार कुरा हो, राजनीतिको सार पनि यही नै हो’, उनले भने ।
उनले खिम्तीको तामाकोशी जनजागृति माविको उन्नयनको लागि आफ्नो तर्फबाट र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने बताए । आफ्नै पहलमा यस अघि सो विद्यालयको लागि एउटा बस पठाएको स्मरण गराउँदै ढुङ्गेलले अर्को बस पनि माग भएकोले त्यसका लागि पहल गर्ने बचन दिए ।
कार्यक्रममा खिम्तीका ९० वर्ष माथिका आठ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रममा नरमाया कार्की, चन्द्रबहादुर खत्री, निरबहादुर थापा, नरमाया थापा, रत्नबहादुर बरुवाल, डम्बरकुमारी कडरिया, ललितादेवी कार्की र लीलामाया थापालाई ढुङ्गेलले दोसल्ला र सम्मान पत्रबाट सम्मान गरे ।

कार्यक्रममा बोल्दै लिखु तामाकोशी–६ का वडाध्यक्ष शिवप्रसाद न्यौपानेले शिक्षा जस्तो पवित्र क्षेत्रको विकासको लागि महायज्ञ आयोजना गरिएकोले सकेको सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले सबैलाई शैक्षिक क्षेत्रको विकासका लागि हातेमालो गर्न आह्वान गरेका थिए ।
महायज्ञमा तेस्रो दिनसम्म १८ लाख ५० हजारभन्दा बढी दान रकम सङ्कलन भएको छ । महायज्ञ कात्तिक ९ गतेसम्म चल्ने छ ।










प्रतिक्रिया