४ असार २०८३, बिहिबार

मन्त्री भट्टराईद्वारा बाढीबाट क्षतिग्रस्त विद्यालय निरीक्षण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कार्तिक । गत असोज ११ र १२ गतेको अविरल वर्षाबाट क्षति पुगेका ललितपुर जिल्लाका विद्यालयको शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री विद्या भट्टराईले स्थलगत निरीक्षण गरेकी छिन् ।

मन्त्री भट्टराईले ४ ओटा विद्यालयको स्थलगत अवलोकन गरेको शिक्षा मन्त्रालय स्रोतले जनाकारी दिएको हो । बाढी र पहिरोका कारण क्षति पुगेका कोन्जोस्योम गाउँपालिकाको ज्ञानज्योति आधारभूत विद्यालय, गोदावरी नगरपालिकाको बुद्ध माध्यमिक विद्यालय, वागेश्वरी आधारभूत विद्यालय, महालक्ष्मी नगरपालिकाको गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयको मन्त्री भट्टराईले निरीक्षण गरेकी हुन् ।

स्थलगत अवलोकनका क्रममा मन्त्री भट्टराईले आवश्यक विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने, अभिभावक र विद्यार्थीलाई मनोपरामर्श दिने र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने बताइन् ।

उनले पाठ्‌यपुस्तक क्षति भएका विद्यार्थीलाई स्थानीय तह‌मार्फत पाठ्‌यपुस्तक उपलब्ध गराइने र दीर्घकालीन रूपमा विपद् प्रतिरोधी जग्गामा मापदण्डअनु‌सारको भवन बनाउन स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाको चासो रहनुपर्ने उल्लेख गर्दै यसका लागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिवद्वता व्यक्त गरिन् ।

निरीक्षणमा मन्त्री भट्टराईसंगै उक्त निर्बाचन क्षेत्रबाट प्रतिनिधिसभा सांसदद्वय उदय समशेर राणा र प्रेम महर्जन, बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री, बाग्मती प्रदेश सभाका सांसद्, सम्बन्धित स्थानीय तहका प्रमुख रउपप्रमुख, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लगायत सहभागी थिए ।